Sunday, November 19, 2017

पूर्वाधार विकास बैंकको लाइसेन्स खुल्यो, २० अर्ब पूँजीको हुनुपर्ने

प्रकाशित मिति: 2017/08/11

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लाइसेन्स खुला गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा भएका कानुनी प्रावधान बमोजिम पूर्वाधार विकास बैंकको लाइसेसन्स सम्बन्धी नीतिगत व्यवस्था २०७४ जारी गर्दे लाइसेन्स खुला गरेको हो ।

राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको रुपमा संस्थापना हुने बैंकको न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ तोकेको छ । पूर्वाधार बैंक खोल्न चाहने व्यक्ती वा संस्थाले यस्तो बैंक पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता गराउनु पर्नेछ । विदेशी बैंक वा वित्तीय संस्थाको संयुक्त लगानी नरहने बैंकको हकमा यस्तो बैंकमा संस्थापक समूहको न्यूनतम ५१ प्रतिशत र सर्वसाधारण समूहको न्यूनतम ३० प्रतिशत शेयर लगानी हुनु पर्नेछ ।

सर्वसाधारण समूहलाई तोकिएको उक्त न्यूनतम शेयर लगानी बाहेक सर्वसाधारण समूहभित्र नै वर्गीकरण हुने गरी बैंकको कर्मचारीलाई ०.२ प्रतिशतसम्म शेयर छुट्याउन सकिनेछ ।

विदेशी बैंक वा वित्तीय संस्थाको संयुक्त लगानी रहने बैंकको हकमा त्यस्तो विदेशी लगानीकर्ताको न्यूनतम २० प्रतिशतदेखि अधिकतम ८५ प्रतिशतसम्म शेयर लगानी हुन सक्नेछ भने सर्वसाधारण समूहको शेयर लगानी न्यूनतम १५ प्रतिशत हुनु पर्नेछ । तर, २० प्रतिशत वा सोभन्दा बढी ५० प्रतिशतभन्दा कम वैदेशिक शेयर सहभागिता हुने भएमा सर्वसाधारण समूहलाई न्यूनतम ३० प्रतिशत शेयर अनिवार्य रुपमा छुट्टयाउनु पर्नेछ ।

त्यस्तै बैंकका कर्मचारीलाई अधिकतम ०.२ प्रतिशत (सर्वसाधारण समूह बाहेकको अंशबाट छुट्टयाई सर्वसाधारण शेयर समूहमा नै गणना गर्ने गरी) सम्म शेयर छुट्याउन सकिनेछ । यस व्यवस्था बमोजिम विदेशी लगानीकर्ता र सर्वसाधारण समूहको शेयर सहभागिता छुट्टयाएपछि मात्र बाँकी रहने शेयर संस्थापक समूहलाई छुट्टयाउन सकिनेछ । नेपाली संस्थापक समूहले कुनै पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा तथा सापट लिई शेयरमा लगानी गर्न नपाउने व्यवस्था गरिएको छ ।

तपाईंको बिचार