Sunday, November 19, 2017

मंगलबारदेखि दशैंका लागि टिकट बुकिङ खुल्ने

प्रकाशित मिति: 2017/09/10

भदौ २५, काठमाडौं । सरकारलाई भाडा बढाउन दवाव दिदै आएका यातायात व्यवसायी अन्तत आफै झुकेका छन् ।  भाडा बढाउनुपर्ने र छतमा यात्रु राख्न पाउनुपर्ने माग गर्दे दशैंका लागि टिकट बुकिङ खुलाउन आनकानी गरेका यातायात व्यवसायीले भदौ २७ गते मंगलबारदेखि लामो रुटका लागि टिकट बुकिङ खुल्ला गर्ने सहमत भएका हुन ।

बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने स्पष्ट अडान राखेपछि व्यवसायी पछि हटेको मन्त्रीका प्रेस संयोजक रमेश जोशीले जानकारी दिए । मन्त्री बलायरले दशैको मुखमा आएर भाडा बढाउन नसकिने र अन्य माग पनि पुरा गर्न नसकिने अडान लिएपछि यातायात व्यवसायी पछि हटेका थिए । लामो दूरीमा यात्रा गर्ने यात्रुको सामान छतमा राख्न दिएपनि खसी, बोकालगायत यात्रु छतमा राखे ट्राफिक प्रहरीले कारबाही गर्ने सहमतिसमेत भएको छ ।

बैठकमा राज्यमन्त्री सीता गुरुङ, विभागका महानिर्देशक रुपनारायण भट्टराई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहाक अध्यक्ष दोलनाथ खनाल र महासचिव सरोज सिटौला सहभागी थिए ।  सहमतिको अनुमगन गर्न विभागका महानिर्देशक भट्टराईको सदस्यतामा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

तपाईंको बिचार