Sunday, November 19, 2017

माथिल्लो तामाकोसीले सबैभन्दा अप्ठयारो सुरुङ मंसिर पहिलो साता सक्ने

प्रकाशित मिति: 2017/11/09

काठमाडौ । नाकाबन्दी र भूकम्प जस्ता समस्या झेल्दै आएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजाले अहिले काम तिब्र गतिमा गरिरहेको छ । यहि मंसिरको पहिलो साता आयोजनाले अप्ठ्यारो मानिएको सुरुङ सम्पन्न गर्ने भएको छ । 

करिब ६३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । असाध्यै कडा चट्टानयुक्त उक्त सुरुङ निर्माणका लागि १० दिन लाग्ने आयोजनाले जनाएको छ । यस्तै सुरुङ ट्रिटमेन्ट तथा ढुंगा माटो व्यवस्थापनका लागि थप चार दिन लाग्नेछ । ८.५ किलोमिटर लामो प्रमुख सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको भौतिक निर्माणको प्रगति करिब ९५ प्रतिशतको हाराहारीमा पुग्नेछ । यस्तै सहायक तथा अन्य अडिट सुरुङको कुल लम्बाई १८.२ किलोमिटर रहेको छ ।

आयोजनालाई आगामी असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । असारमा पहिलो युनिट सञ्चालनमा ल्याउने गरी तयारी भएको छ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनामा स्वदेशी लगानी रहेको छ ।

असोजको पहिलो साता अप्ठ्यारो मानिएको भर्टिकल सार्फ टनेल ब्रेक थु्र गरेको आयोजनाले सुरुङको काम सक्ने बित्तिकै बाँधको काम पनि सम्पन्न हुने जनाएको छ । हाल आयोजनाको विद्यृत् गृह निर्माण तथा अन्य भौतिक काम युद्धस्तरमा भइरहेको छ ।

नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक दिन आयोजनाको कार्यप्रगतिको बारेमा जानकारी लिने गरेका छन् । कुनै समस्या आइलागे आयोजनास्थलमा नै समाधान गर्न र कुनै दिन पनि काम रोकिने अवस्था आउन नदिन निर्देशन दिएका छन् ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठलाई आयोजनास्थल नछाड्न कुलमानले निर्देशन दिएको, आयोजनास्थलमा नै बोर्ड बैठक राखेको र ठेकेदार परिचालन व्यवस्थित बनाएका कारण आयोजनाले गति लिएको छ ।

यस्तै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयोजना तोकिएको समयभन्दा पहिले सकाए आयोजनालाई एक अर्ब पुरस्कार दिने घोषणा गरेका थिए । आयोजनाको कार्यप्रगति बढ्नुमा सरकारले घोषणा गरेको पुरस्कारले पनि काम गरेको बताइन्छ । यस्तै आयोजना निर्माणको अन्तिम चरणमा पुगिरहेको समयमा रोल्वालिङ डाइभर्सनको लाइसेन्स पनि आयोजनाले पाएको छ । सो आयोजना बनाउनका लागि माथिल्लो तामाकोसीले केबलकार निर्माण गर्ने जनाएको छ ।

तपाईंको बिचार