Sunday, November 19, 2017

नेपाल र चीन जोड्ने रेलमार्ग सम्भव : चिनियाँ टोली

प्रकाशित मिति: 2017/11/10

काठमाडौं । नेपाल र चीन जोड्ने रेलमार्गबारे अध्ययन गर्न नेपाल आएको चिनियाँ टोलीले रेल निर्माण प्राविधिक रुपमा सम्भव भएको निष्कर्ष दिएको छ ।

केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग सम्भव रहेको प्रारम्भीक रिपोर्ट उक्त टोलीले दिएको हो । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री चेङ जियान नेतृत्वको २३ सदस्यीय टोली सम्भाव्यता अध्ययन गरेर शुक्रबार बेइजिङ फर्केको छ । उक्त टोलीले आफ्नो रिपोर्ट चीन सरकारलाई पेश गर्नेछ ।

रेलमार्ग निर्माणका लागि अब नेपाल सरकारले औपचारिक आग्रह गर्नुपर्नेछ । रेल विभागमा सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त शर्माका अनुसार त्यसपछि मात्र निर्माणको प्रक्रिया अगाडि बढाउन सकिनेछ ।

चिनियाँ टोलीले तीन वटै मार्गमा केही भौगर्भिक समस्या औंल्याएको छ । नेपाल इन्डियन र युरेसियन टेक्टोनिक प्लेटको बीचमा पर्छ । दुई प्लेट आपसमा रगडिँदा रेलमार्गको सुरुङमा समस्या आउने उक्त टोलीको निष्कर्ष छ । तर चीनसँग जस्तोसुकै भूगोलमा पनि रेलमार्ग र सडक निर्माण गरेको अनुभव छ । सिचुवान प्रान्तको चार हजार मिटर उचाइमा उक्त सडक निर्माण भएको छ । १५ वर्षको निरन्तर प्रयत्नपछि हालै सडक सञ्चालनमा आएको छ । 

नेपाल र चीनबीच विकट हिमाली क्षेत्र पर्छ । अग्ला पहाडहरुका कारण गणितीय ‘रेडियन्स’को समस्या हुने चिनियाँ टोलीको भनाइ छ । यस्तो क्षेत्रमा ओर्लने र उक्लिन सक्नेगरी रेल निर्माण गर्नुपर्छ ।

वन क्षेत्रमा रुख कटान सहज नभएको बताउँदै चिनियाँ टोलीले त्यसमा रहेको नीतिगत जटिलता तत्काल हटाउन सुझाएको छ । टेन्डर तथा ठेक्कापट्टामा पनि नीतिगत जटिलता रहेकाले त्यसमा पनि सुधार गर्न सुझाव दिएको शर्माले जानकारी दिए ।

प्रक्रियागत जटिलताका कारण नेपालका आयोजनामा निर्माण अवधि बढ्ने अनुभव यसअघि नै नेपालमा कार्यरत चिनियाँहरुको छ । अहिले आएको टोलीले पनि सोही समस्या औंल्याएको छ ।

चीनले सन् २००६ मै ११ सय किलोमिटर लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो । त्यसलाई सिगात्सेसम्म विस्तारको काम भइरहेको छ, अहिले उक्त मार्गलाई नेपाल सीमाको केरुङसम्म ल्याउने चिनियाँ योजना छ । त्यहाँबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेलमार्ग निर्माणको योजना दुवै पक्षले अगाडि सारिसकेका छन् ।

तपाईंको बिचार