Sunday, November 19, 2017

तरकारीको अत्यधिक मूल्य वृद्धि नियन्त्रण गर्न निर्देशन

प्रकाशित मिति: 2017/11/13

काठमाडौं । प्रधानमन्त्री कार्यालयले तरकारीको बजार मूल्य अनुगमन र नियन्त्रण गर्न निर्देशन दिएको छ । बजारमा खुद्रा तरकारीको मूल्य अत्यधिक बढेपछि प्रधानमन्त्री कार्यालयले सरोकारवाला निकायलाई आइतबार यस्तो निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा भएको छलफलमा कालिमाटी तरकारी बजारमा कायम हुने थोक मूल्यका आधारमा उपभोक्ता मूल्य कायम गर्र्नुपर्नेमा त्यो नभई व्यापारीले आफूखुसी गरेको निष्कर्ष निकालिएको छ ।

सरकारले अनावश्यक रूपमा नाफा असुल गर्ने व्यापारीलाई तल्काल कारबाही गरिने जनाएको छ । तरकारी विकास निर्देशनालयका निर्देशक हरिबहादुर केसीले तरकारीको थोक र खुद्रा मूल्यमा केन्द्रित भएर अनुगमनलाई कडा पार्न सरकारले निर्देशन दिएको जानकारी दिए । 

‘उत्पादन कम भएका कारण आपूर्ति पनि कम परिमाणमा भएकाले थोक मूल्यमा केही मूल्य वृद्धि हुनसक्छ जानकारी गरायौ, निर्देशक केसीले भने, ‘थोक मूल्यको आधारमा उपभोक्ता मूल्यमा दुई चार रुपैयाँ तलमाथि हुन सक्छ । तर, थोक मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा खुद्रा व्यवसायीले हरियो तरकारी बिक्री गर्दै आएको सचिवलाई जानकारी गरायौं ।’

छलफलमा सहभागी आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले तरकारीको थोक मूल्य र खुद्रा व्यवसायीले कायम गरेको उपभोक्ता मूल्यका विषयमा कडाइका साथ अनुगमन गरिने जानकारी दिए । गत वर्षको यही महिनाको तुलनामा यो वर्ष हरियो तरकारीको मूल्य झण्डै दोब्बर बढेको छ । सरकारले तरकारीको कारोबारमा संलग्न बिचौलिया र ठूला व्यापारीलाई कानुनी दायरामा ल्याउन राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागलाई परिचालन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

गत वर्षभन्दा करिब ४५ प्रतिशत बढी मूल्यमा तरकारी बिक्री भइरहेका छन् । कालिमाटी तरकारी बजारमा कायम रहेको औसत थोक मूल्यभन्दा प्रत्येक तरकारीमा ३५ देखि ८० रुपैयाँ बढी नाफा जोडेर खुद्रा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य असुल गर्दै आएका छन् । फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले उत्पादन कम भएको र कम उत्पादन हुँदा आपूर्ति पनि कम भएकाले गत वर्षको तुलनामा यो वर्ष थोक मूल्य पनि अत्यधिक भएको हो ।

सरकारले तरकारीको कारोबारमा संलग्न बिचौलिया र ठूला व्यापारीलाई कानुनी दायरामा ल्याउने ।

‘सरकारले कडाइका साथ अनुगमन नगरिदिँदा त्यसको प्रत्यक्ष फाइदा खुद्रा व्यापारीले उठाएर उपभोक्तालाई ठगेका हुनुन अध्यक्ष घिमिरेले भने, ‘पछिल्लो पाँच वर्षदेखि थोक मूल्यका आधारमा खुद्रा पसललाई पनि अनुगमनको दायरामा ल्याउन सरकारलाई ज्ञापनपत्र बुझाउँदै आयौंं । तर कतै सुनुवाइ भएन । नियमनकारीको गैरजिम्मेवारीका कारण प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।

कालिमाटी बजारमा आइतबार थोक मूल्य प्रतिकिलो ८३ रुपैयाँमा कारोबार भएको ठूलो गोलभेंडा खुद्रा व्यापारीले एक सय १० रुपैयाँमा बिक्री गरेका छन् । गत वर्ष सोही गोलभेंडाको थोक मूल्य ४८ रुपैयाँ थियो । यस्तै कालिमाटीमा ७३ रुपैयाँ रहेको काउलीलाई खुद्रा व्यापारीले प्रतिकिलो एक सय ४० रुपैयाँमा बिक्री गरेका छन् । गत वर्ष यही काउलीको थोक मूल्य ७८ रुपैयाँ थियो । यसैगरी कालिमाटीमा प्रतिकिलो ७३ मा बिक्री भइरहेको बन्दालाई खुद्रा व्यापारीले सय रुपैयाँमा बिक्री गरेका छन् । गत वर्ष यही समयमा बन्दाको थोक मूल्य २८ रुपैयाँ थियो ।

गत वर्ष ४२ रुपैयाँमा कारोबार गरेको घिउसिमीको थोक मूल्य अहिले ७८ रुपैयाँ पुगेको छ । तर, उपभोक्ता यही घिउसिमी प्रतिकिलो ९५ रुपैयाँमा खरिद गर्न बाध्य छन् । गत वर्ष नै ५२ रुपैयाँ थोकमा कारोबार भएको भिण्डीको थोक मूल्य अहिले ७८ पुगेको छ । उपभोक्ताले भिण्डीलाई अहिले ९० रुपैयाँ तिर्दै आएका छन् । ‘प्रत्येक तरकारीमा बिचौलिया र खुद्रा व्यवसायीले थोक मूल्यभन्दा झण्डै ५० देखि ८० रुपैयाँ बढी थपेर उपभोक्ताबाट असुल गरेको छ । तर राज्य मौन छु, अध्यक्ष घिमिरेले भने । –अन्नपूर्णबाट

तपाईंको बिचार