Tuesday, November 21, 2017

आर्थिक समृद्धिका लागि श्रमको सम्मान आवश्यक

प्रकाशित मिति: 2015/08/09

साउन , काठमाडौं । मुलुकको आर्थिक समृद्धिका लागि प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा विदेशिने युवालाई स्वदेशमै रोक्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
‘रोजगारी र समृद्धिका लागि आर्थिक क्रान्ति’ नामक एक अभियानद्वारा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी र युवाहरूले यस्तो बताएका हुन् ।

कार्यक्रममा निवर्तमान मुख्यसचिव लीलामणि पौडेलले मुलुकको ऊर्जाशील जनशक्ति विदेशिँदा मुलुलको आर्थिक समृद्धि पछाडि धकेलिएको बताए । उनले यसलाई रोक्नका लागि हामीले नपढेकाले मात्र शारीरिक श्रम गर्छन् भनी सिकाउँदै आएको गलत प्रवृत्ति सच्याएर पढेर पनि शारीरिक श्रम गर्नुपर्छ भनेर सिकाउनुपर्ने बताए ।

‘त्यसैले श्रमको सम्मान गर्न अभिभावकले आजैदेखि आआफ्ना बालबालिकालाई श्रमको सम्मान गर्ने संस्कार सिकाउनु आवश्यक छ,’ उनले भने । सरकारले नेपाली युवाको श्रमको सम्मान गर्दै श्रमको उचित न्यूनतम ज्यालासहित विभिन्न तालीम दिनुपर्नेमा उनले जोड दिए ।

नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले नेपाली युवासँग ऊर्जा हुँदाहुँदै पनि दृढ आत्मविश्वासको कमी देखिएको बताए । ‘नेपालमा लगानीभन्दा श्रमशक्तिकै कमी रहेकाले शक्तिलाई श्रममा बदल्नुको विकल्प छैन,’ उनले भने ।

नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रामशरण देउजाले रोजगारीको खोजीमा देशका युवाशक्ति विदेशिने क्रम बढिरहँदा स्वदेशकै निर्माण क्षेत्रमा भने कामदारको अभाव हुन थालेको बताए ।

‘यो समस्याको समाधानका लागि सरकारले श्रमको सम्मान र न्यूनतम ज्यालाको प्रत्याभूति गर्न सक्नुपर्छ,’ उनले भने । कार्यक्रममा ३० जना साना तथा घरेलु उद्योगीलाई सम्मान गरिएको थियो ।

तपाईंको बिचार