Thursday, January 18, 2018

चोभार सुख्खा बन्दरगाहको लागि डीपीआर तयार

प्रकाशित मिति: 2017/12/19

काठमाडौं । चोभारमा निर्माण हुने अन्तराष्ट्रिय स्तरको सुक्खा बन्दरगाह र प्रदर्शनीस्थलको  गुरुयोजना र डीपीआर (विस्तृत परियोजना) तयार भएको छ। 

डिजार्इन र रिपोर्टको काम सकिएकाले विश्व बैंकमा पठाउने तयारी भैरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिकाले जनाएको छ ।  त्यहाँबाट स्विकृत भएर आएपछि टेण्डर आव्हान गरिने छ । सबै प्रक्रिया मिलाएर ढिलोमा  माघ पहिलो साता टेण्डर आव्हान गर्ने समितिको तयारी रहेको छ । 

चोभारको हिमाल सिमेन्टको कारखाना रहेको ठाउँमा बन्दरगाह निर्माण गर्न लागिएको हो । सरकारले काठमाडौंको भृकुटीमण्डपमा रहेको प्रदर्शनी केन्द्र साँघुरो भएको भन्दै आर्थिक बर्ष २०७०÷०७१ मा  कारखानाको जग्गामा अन्तराष्ट्रियस्तरको प्रदर्शनी स्थल बनाउने भनी घोषणा गरेको थियो । 

विश्व बैंकको डेढ अर्व रुपैयाँ सहयोगमा हिमाल सिमेन्टको कारखाना रहेको उक्त जग्गामा सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हो ।सरकारले विश्व बैंकबाट ऋण सहायता पनि प्राप्त गरिसकेको छ।

समितिका अनुसार १०५४ रोपनी जग्गामा अन्तराष्ट्रियस्थलको प्रदर्शनी र सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हो । जसमा २ सय रोपनीमा सुक्खा बन्दरगाह तथा  र बाँकी ठाउँमा प्रदर्शनीस्थल बन्ने छ।

चोभारमा बन्ने सुक्खा बन्दरगाहमा सामान आयात र निर्यात गर्नका लागि आन्तरिक र बाह्य गरि दुर्इवटा छुट्टाछुट्टै  टर्मिनल हुनेछन्।  आन्तरिक टर्मिनलबाट देशभरबाट काठमाडौं आउने र बाहिर जाने सामान अनलोड तथा भण्डारण समेत गर्न मिल्ने व्यवस्था गरिनेछ। बाह्य टर्मिनलमा भने छिमेकी मुलुक तथा तेस्रो मुलुकबाट आयात गरिएका सामानलार्इ सिधै चोभारमा ल्याइनेछ। जसका कारणले भन्सार नाकामा कन्टेनर खोलेर लोड अनलोडको झन्झट हट्ने तथा आर्थिक भार घट्ने छ। समितिका अनुसार तेस्रो मुलुकबाट ल्यार्इएका सामान सिधै चोभारमा आउनेछन् । नाकामा सिल र  लक मात्र हेरिने छ।

अन्तराष्ट्रिय प्रर्दशनी स्थलमा अन्तराष्ट्रिय हल र थिएटर समेत बन्नेछन्। त्यस्तै सुन्दरपार्क, फुड स्टल,अन्तराष्ट्रियस्तरका नेपाली उत्पादन, सामाग्रीहरु राख्ने स्टल, किड कर्नर, मिटिङ हल निर्माण हुनेछन्।

तपाईंको बिचार