Saturday, February 16, 2019

२७ बैंकद्वारा एनआईसी एसियासँगको कारोबारमा रोक

प्रकाशित मिति: 2018/03/09

काठमाडौं । नेपाल बैंकर्स संघको निर्णय बाहिर गएर बैंकिंग प्रणालीलाई असहज बनाउन खोजेको भन्दै संघले एनआईसी एशिया बैंकसँगको सम्बन्ध र सहकार्यलाई तत्काल स्थगित गर्ने निर्णय गरेको छ । 

सो लगत्तै बैंकले नयाँ व्याजदर सार्वजनिक गरेपछि आकस्मिक बैठक बोलाएर संघले यस्तो निर्णय गरेको हो । एनआइसी एसियाले संघमा ब्याजदर नबढाउने प्रतिबद्धता व्यक्त गरेपनि सम्झौता विपरित संघको काम कार्वाहीलाई प्रभावित बनाउन खाजेको संघको ठहर छ ।

पछिल्लो पटक एनआईसी एशियाले साधारण बचतको व्याजदर १० प्रतिशत पुर्याएलगत्तै संघले बैठक बोलाएर साधारण बचतको व्याजदर ८ प्रतिशत माथि नलैजाने निर्णय गरेको थियो । सोही अनुसार एनआईसी एशियाले व्याजदर ८ प्रतिशतमा नै घटाएको थियो ।

तर त्यस अघिको बैठकले मुद्धती निक्षेपमा ११ प्रतिशत व्याजदरभन्दा माथि नजाने भनी गरेको निर्णयलाई टेकेर एनआईसी एशियाले १२ प्रतिशतको व्याजदर प्रस्ताव गरेको छ । यही व्याजदरको विषयमा उत्पन्न विवादका कारण बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले राजिनामा गरेपछि बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको थियो ।

बैंकको यो निर्णयलाई संघले एक्लो यात्रामा निस्कन एनआइसी एशिया अग्रसर भएको भन्दै  तत्कालका लागि सो बैंकसँग कुनै पनि किसिमका सम्बन्ध नराख्ने निर्णय गरेको हो । संघले एनआईसी एशियासँग कुनै पनि किसिमको अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको छ । 

संघले एनआईसी एशियाको पछिल्लो कदमको समीक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा यही फागुन २७ गते आइतबार अर्को बैठक आह्वान गरेको छ । उक्त बैठकमा एनआईसी एशिया बाहेकका २७ वाणिज्य बैंकलाई आमन्त्रण गरेको संघले जनाएको छ ।

तपाईंको बिचार