Thursday, October 17, 2019

म्याग्दी भ्रमण वर्ष २०७५ को तयारी तीब्र

प्रकाशित मिति: 2018/04/13

म्याग्दी । उद्योग वाणिज्य संघको आयोजनामा आगामी नयाँ वर्ष २०७५ लाई ‘म्याग्दी भ्रमण वर्ष’को रुपमा मनाउने तयारी गरिएको छ ।  सरोकारवालाहरुको सहयोग र सहकार्यमा आगामी वैशाख १ गतेदेखि म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको हो ।

अपार पर्यटकीय सम्भावनाहरु हुँदाहुँदै ती क्षेत्रहरुमा पर्यटकलाई र्पुयाउन नसक्दा सूचना र प्रविधिको यो युगमा पनि  ओझेलमा परेका ‘भर्जिन टुरिजम प्लेस’ को मार्केटिङ गर्ने उद्देश्यले म्याग्दी भ्रमण वर्ष २०७५ को आयोजना गरिएको हो ।

म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल पारी उपलव्धीमूलक बनाउन म्याग्दी उद्योग वाणिज्य संघको संयोजकत्वमा बेनी नगरपालिका लगाएत पाँचवटै गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, मोना आइसिसि, नेपाल पर्यटन बोर्ड र म्याग्दी विकास मञ्चलाई समेटेर म्याग्दी भ्रमण वर्ष २०७५ मूल समारोह समिति गठन गरिएको छ ।

त्यसैगरी म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष एवम् म्याग्दी भ्रमण वर्षका अभियन्ता  राजेश शाक्यको संयोजकत्वमा सूचना केन्द्र स्थापना तथा व्यवस्थापन उपसमिति, प्रथम उपाध्यक्ष सुविन श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, बेलवहादुर कटुवालको संयोजकत्वमा अतिथी सत्कार उपसमिति, अमित वानियाँको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति र लिलानाथ गौतमको संयोजकत्वमा प्रकाशन उपसमिति गठन गरिएको छ । 

भ्रमण वर्ष मनाउन करिब ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । उक्त रकम, संघ स्थानीय गाउँपालिका, नगरपालिका, नेपाल पर्यटन बोर्ड र विदेशमा रहेका म्याग्देलीको संस्था मोनाको सहयोगमा जुटाइने अभियन्ता राजेश शाक्यले जानकारी दिनुभएको छ ।

तपाईंको बिचार