Monday, August 26, 2019

यार्सागुम्बा संकलनमा करको विवाद

प्रकाशित मिति: 2018/05/09

दार्चुला । यार्सागुम्बाको करका विषयमा दार्चुलामा स्थानीय सरकार र अपिनाम्पा संरक्षण क्षेत्रबीच विवाद भएको छ । विवादका कारण संकलकहरू अनुमतिपत्र नलिएरै यार्सागुम्बा संकलन गर्ने क्षेत्रमा पुगेका छन् ।

दार्चुलाको यार्सागुम्बा पाइने हिमाली क्षेत्र अपिनाम्पा संरक्षण क्षेत्रमा पर्दछ । यसअघि संरक्षण क्षेत्रले नै कर संकलन गर्दै आएको थियो । स्थानीय तह गठन गरेपछि सो क्षेत्र अपिहिमाल र व्यास गाउँपालिकाअन्तर्गत परेको छ । आफ्नो क्षेत्रअन्तर्गत परेकाले यार्सागुम्बाको कर उठाउन पाउनुपर्ने गाउँपालिकाको दाबी छ । दुवै गाउँपालिकाले यार्सागुम्बामा वातावरण संरक्षण कर लगाउने निर्णय गरिसकेका छन् ।

संविधानले दिएको अधिकार प्रयोग गरी कर लगाएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताए । त्यस्तै, गाउँ परिषद्बाटै निर्णय गरेर यार्सा संकलनका क्षेत्रमा कर लगाएको व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले बताए ।

यार्सागुम्बा संकलनका नाममा सोही प्रकृतिको कर लगाउन नहुने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको भनाइ छ । संरक्षण क्षेत्रले पहिलेदेखि नै यार्सागुम्बा संकलन अनुमति–पत्र र छोड पुर्जीबापत राजस्व उठाउँदै आएकाले गाउँपालिकाले दोहोरो कर लगाउन नहुने उनले जिकिर गरे ।

अनुमति नलिएरै पाटनमा
प्रायः वैशाख दोस्रो सातादेखि असार अन्तिमसातासम्म यार्सागुम्बा संकलन हुने गरेको छ । तर, योपटक कर विवादले संकलन खुला गर्न ढिलाइ भएको छ । जसका कारण यार्सागुम्बा संकलकहरू पाटनमा पुगिसकेका छन् ।

उनीहरूले अनुमति–पत्र भने लिएका छैनन् । संकलन अनुमति–पत्रबापतको शुल्कपछि दिने गरी यार्सागुम्बा संकलनकहरू पाटन क्षेत्रमा पुगेको व्यास गाउँपालिकाका बुढाथोकीले बताए ।

त्यस्तै, अपी हिमाल गाउँपालिका क्षेत्रका पाटनहरूमा मंगलबारदेखि संकलन खुला गरिँदै छ । संकलकहरू भने एक साताअघि नै पाटन क्षेत्रमा पुगेका छन् । ‘हामीले वन प्रवेश शुल्क लिएर संकलकहरूलाई प्रवेश गराएका छौँ,’ अपी हिमाल गाउँपालिका अध्यक्ष मन्यालले भने ।

संरक्षण क्षेत्र भने मंगलबारदेखि अनुमति दिने र यार्सागुम्बा संकलन खुला गर्ने भएको छ । संरक्षण क्षेत्रले संकलन अनुमति–पत्र नलिएका संकलनकर्ता भेटिए वन ऐन कानुनअनुसार कारबाही गर्ने सूचनासमेत जारी गरेको छ । त्यसका लागि ३६ वन रक्षक खटाइएका छन् ।

आठ सय किलो यार्सा संकलन हुने
दार्चुलामा यो वर्ष आठ सय २० किलो यार्सा संकलन हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दार्चुलाका लागि यार्सागुम्बा निकासी गर्ने सीमा तोकेको हो । संरक्षण क्षेत्रका अनुसार गत वर्ष पहिलो चरणमा ६ सय ९३ र दोस्रो चरणमा एक सय ५० किलो कोटा तोकिएको थियो ।

यार्सागुम्बा व्यवस्थापन योजनामा उल्लेख गरिएअनुसार कुल मौज्दातको ६५ देखि ७५ प्रतिशतसम्म यार्सागुम्बा संकलन गर्न सकिने उल्लेख छ । यो वर्ष ६५ प्रतिशत संकलन गर्ने अनुमति मिलेको प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए ।

 

#nayapatrika

तपाईंको बिचार