Wednesday, February 20, 2019

बैंकहरु नसुध्रिए कारवाही हुन्छ : गभर्नर नेपाल

प्रकाशित मिति: 2018/05/13

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गलत तरिकाले लगानी गर्ने बैंकहरुलाई राष्ट्र बैंकले निरिक्षण गरिरहेको बताएका छन् । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको शुभारम्भ गर्दै नेपालले भने गलत क्षेत्रमा लगानी गर्ने बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने चेतावनी समेत दिए ।

‘नाफा चाहिए बैंकबाट ऋण लिएर कुनै व्यवसाय गर्नुस्। तर बैंकबाट नाफा चाहिन्छ भनेर व्यवस्थापनलार्इ अनावश्यक हस्तक्षेप नगर्नुस्,’ गभर्नर नेपालले भने।  उनले बैंक जनताको निक्षेप लिएर जिम्मेवारपूर्वक सञ्चालक हुने ठाउँ भएको भन्दै जनताको पैसालाई नाफाका लागि जथाभावी प्रयोग नगर्न सचेत गराए। 
 
उनले बैंकरहरुलाई ऋण लगानीमा सुध्रिन पनि भनेका छन्। सञ्चालक समितिको दवावले बैंकरहरु जसरी पनि नाफा कमाउन लागिपरेको भन्दै बेलैमा सुध्रिन आग्रह गरे। ‘निक्षेप संकलन १३ प्रतिशतले बढ्दा ऋण लगानी १८ प्रतिशतले बढेको छ,’ गभर्नरले भने, ‘राष्ट्र बैंकले कारबाही गर्नुभन्दा अगाडि आँफै सुध्रिनुस्।‘
 
गभर्नरले नाफा कमाउने हिसावले बैंकहरुले ऋण विस्तार गर्दा गलत ठाउँमा पैसा गइरहेकोसमेत खुलाएका छन्। उनले यसरी लगानी हुँदा खराब कर्जा बढ्ने अवस्था आएको भन्दै समयमै बिचार पुर्याउन निर्देशन दिए। 
 
दुर्इ बैंकको एकिकृत कारोबार सुभारम्भमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीले पूँजीका हिसावले मेगा तेस्रो ठूलो बैंक भएको बताइन्। बैंकको चुक्ता पूँजी ९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। दुबै बैंकले निष्काशन गरेको हकप्रद र घोषणा गरेको बोनस शेयर सूचिकृत भएसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ५० करोड रुपैयाँ नाघ्ने बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए। 

तपाईंको बिचार