Saturday, February 16, 2019

केरुङ काठमाडौं रेलमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली काठमाडौंमा

प्रकाशित मिति: 2018/05/22

 

काठमाडौं । काठमाडौंको टोखामा चिनियाँ प्राविधिकहरुले केरुङ–काठमाडौं रेल परियोजनाको प्रारम्भिक अध्ययनका गरिरहेका छन् ।  प्राविधिकहरुले टोखामा रेल मार्ग बनाउनकालागि आवश्यक अध्ययन गरिरहेको  रेल बिभागका प्रवक्ता प्रकाश उपाध्यायले जानकारी दिए।

टोखा रेलमार्गको संभावित स्टेशन बन्न सक्छ कि सक्दैन भन्ने बारेमा टोलीले अध्ययन गरिरहेको बुझिएको छ। यसअघि टोखालाई रेलको स्टेशन बनाउन उपयुक्त हुने सुझाव पाएपछि चिनियाँ टोलीले टोखामा पुगी प्रारम्भिक अध्ययन अघि बढाएको उपाध्यायले बताए। 

तीन साता अघि अघि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सचिव मधुसुदन अधिकारीको नेतृत्वमा ७ सदस्यीय टोली छलफलका लागि बेइजिङ गएको थियो । सोही समय बेइजिङमा नेपाली टोली र चिनियाँ रेलवे एडमिनिस्ट्रेसनका बीच रेलमार्गको अध्ययन अघि बढाउने द्धिपक्षीय सम्झौता भैसकेको छ। सम्झौता अनुसार चीनले सम्भाव्यता अध्ययन गर्नका लागि प्राविधिक पठाएको हो।

नेपाली टोलीको भ्रमणकै क्रममा चीनियाँ रेलवे एडमिनिस्ट्रेसनले चाइना रेलवे फष्ट सर्भे एण्ड डिजाइन कम्पनी लार्इ अध्ययनको जिम्मा दिएको थियो। सोही परामर्शदाता कम्पनीका प्राविधिकहरुले हाल टोखामा अध्ययन गरिरहेका हुन्।

तीन महिनामा उक्त टोलीले अध्ययन प्रतिवेदन बुझाउने बताइएको छ। प्रतिवेदन आएपछि मात्रै चीनसँग थप सम्झौता गर्दै निर्माण अघि बढाउने रेल विभागले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनका बीचमा द्धिपक्षीय सम्झौता गरेर मोडालिटी टुङ्गो लगाउने तयारी समेत थालिएको छ। परराष्ट्र मन्त्रालयले आगामी असार पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी गरिरहेको छ।

भ्रमण अघि नै रेल परियोजनाबारे आवश्यक प्राविधिक तयारी गर्न निर्देशन आएकाले अहिले रेल विभाग त्यसैको तयारीमा लागेको छ। रेल विभागका अनुसार यो रेल परियोजना अनुदानमा बनाइदिन नेपालले प्रस्ताव गर्ने छ। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले यस अघि चीन भ्रमणमा जाँदा केरुङ–काठमाडौं  रेल परियोजनाले समेत प्राथमिकता पाएको थियो। परराष्ट्रमन्त्री ज्ञवालीले उक्त रेल परियोजना अनुदानमा बनाइदिन आग्रह गरेका थिए।

तपाईंको बिचार