Wednesday, February 20, 2019

चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययनका लागि चाइना कम्पनीसँग सम्झौता

प्रकाशित मिति: 2018/05/25

काठमाडौं । काठमाडौं महानगरपालिकाले चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययनका लागि चीनको चाइना रेलवे २५ व्युरो ग्रुप कम्पनीलार्इ जिम्मा दिएको छ । शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्य र चाइना रेलवेका  महाप्रवन्धक लि होङगकीले सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीले छ महिनाभित्रमा महानगरलार्इ सम्भाव्यता अध्ययन रिपोर्ट बुझाउने छ । सोही रिपोर्टका आधारमा मोनोरेल निर्माण कार्य अघि बढार्इने काठमाडौं महानगरपालिकाले जनाएको छ । सो अवसरमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन, कामपाकी उपमेयर हरिप्रभा खड्गी, प्रमुख प्रशासकीय अधिकृत यादव कोर्इराला लगायतको उपस्थिति थियो।

काठमाडौं महानगरपालिकाले मोनोरेलको सम्भाव्यता अध्ययन गर्न इच्छुक कम्पनीहरुलार्इ आशयपत्र माग गरेको थियो । चाइना रेलवे ग्रुप कम्पनीले गत बैशाख २० गते महानगरमा इच्छापत्र बुंझाएको  थियो । सोही आधारमा बैशाख २४ गते मेयरको अध्यक्षतामा बसेको वैठकले उक्त कम्पनी नै उपयुक्त भन्दै सम्भाव्यता अध्ययनका लागि दिने निर्णय गर्यो। उक्त निर्णय अनुसार छ महिनामा रिपोर्ट बुझाउने गरि सम्झौता गरिएको काठमाडौं महानरगपालिकाले जनाएको छ।

सम्झौता अनुसार कम्पनीले चक्रपथमा मनोरेल सञ्चालनका लागि आर्थिक, प्राविधिक, आवश्यकता, दिगोपना जस्ता पक्षमा अध्ययन गर्ने उल्लेख गरिएको छ । अध्ययनपछि उपयुक्त विकल्पहरु सिफारिस गर्ने बताइएको छ ।

सम्झौतापछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै पालामा मोनोरेल चलाएरै छाड्ने दाबी गरे । ‘मोनोरेल चलाउछु भनेको एक बर्ष भैसक्यो, विधि मिलेपछि काम गर्ने बाटो खुल्छ, काम थालनी भएपछि रेल सञ्चालन हुन समय लाग्दैन, हामी त्यहि दिशामा लक्षित छौ’उनले भने । उनले आफ्नै कार्यकालमा चक्रपथमा मनोरेल कुदाएर देखाउने प्रतिवद्धता समेत गरे।

ललितपुरका मेयर चिरीबाबु महर्जनले आफुले महानगरवासीलार्इ सरल जीवनयापन गर्न सुविधाको सुन्दर उपहार दिन लागिपरेको बताए । ‘मोनोरेल निर्माण व्यवस्थापन तथा संचालन कार्यले काठमाडौंसँगै  ललितपुर महानगरको समृद्धिसंग पनि उत्तिकै सम्बन्ध राख्छ, हरेक सवालमा काठमाडौं र ललितपुर महानगर सहकार्य गर्दै बढ्ने छ उनले भने।

सम्झौता अनुसार पहिलो महिना अध्ययनका लागि आधार तयार गरेर सम्भाव्यता अध्ययन थालिनेछ। फाइनल प्रतिवेदन कम्पनीले छ महिनामा बुझाउने छ।

तपाईंको बिचार