Thursday, June 29, 2017  |    

गभर्नर भन्छन्ः पुँजी बढाउन बैंक तयार हुँदैछन्, राष्ट्र बैंकको गरिमाका लागि कर्मचारीसँग आग्रह -

प्रकाशित मिति: 2015/08/15

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले बैंकहरु मौद्रिक नीतिको प्रावधान अनुसार पुँजी वृद्धि गर्न अग्रसर भएको बताएका छन् । शुक्रवार राष्ट्र बैंकमा नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले अर्थतन्त्रको दायरा बढिरहेको बेला वित्तिय क्षेत्रलाई थप सबल बनाउन मौद्रिक नीति मार्फत् पुँजी वृद्धिको निर्णय लिएकोमा आफूलाई सबै क्षेत्रबाट सहयोग र सर्हाना प्राप्त भएको बताए ।

‘नयाँ लगानी र व्यवसाय गर्न पुँजी नथपी हुँदैन’ गभर्नरले नेपालले भने ‘पहिले विरोध गर्ने र फिर्ताको माग गर्नेहरु नै अहिले मर्जरका लागि सहयोग गरिदिन आग्रह गर्दैछन् ।’  
 
अर्को प्रसंगमा विनाशकारी भूकम्पको भोलिपल्ट नै वित्तीय सेवा सुचारु गरेकोमा राष्ट्र बैंकका कर्मचारीको प्रशंसा गर्दै वित्तीय क्षेत्रको प्रवद्र्धनमा एकजुट भएर लाग्न उनले आग्रह गरे । भारतको गुजरात, हाइटी, इन्डोनेशिया आदि देशमा भुँइचालो आउँदा महिनौं सम्म बैंक तथा वित्तीय सेवा बन्द भएको स्मरण गर्दै गभर्नर नेपालले आफ्ना दुईवटा भवन भत्किँदा समेत राष्ट्र बैंकले विचलित नभई सेवा सुचारु गराएको बताए । ‘हाम्रा कर्मचारी कर्मठ र उद्देश्योन्मुख छन्’ उनले भने ‘त्यसको पुष्टि विपतका बेला देखिएको एकता र दृढताले गरेको छ ।’
 
कर्मचारीका सेवा शर्त र सुविधाका बारे सबै युनियनको साझा धारणा आउनुपर्ने उनले बताए । ‘व्यवस्थापन र सबै कर्मचारी एक भएर राष्ट्र बैंकको गरिमा उच्च बनाउनु हाम्रो पहिलो दायित्व हो, सबै युनियनले यसलाई हेक्का राख्नेमा म विश्वस्त छु’ उनले भने । नेपाल  राष्ट्र बैंकमा अहिले काँग्रेस, एमाले, एमाओवादी र वैद्य माओवादी समर्थित गरि चारवटा युनियन छन् ।
 
काँग्रेस समर्थित वित्तीय संस्था कर्मचारी सँघले शुक्रबारको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा डेपुटी गभर्नरहरु गोपालप्रसाद काफ्ले, महाप्रसाद अधिकारी तथा संघका अध्यक्ष र अन्य पदाधिकारीले केन्द्रीय बैंकको कदममा कर्मचारीले साथ दिनुपर्ने बताए । संघको परिषद भेला शनिवार बन्द सत्रसँगै समापन हुनेछ ।

तपाईंको बिचार