Friday, October 18, 2019

क्यासिनो कारोबार बैंकिङ्ग प्रणाली मार्फत : राष्ट्र बैंक

प्रकाशित मिति: 2018/05/29

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनोहरुलाई विदेशी विनिमय कारोबार बैंकिङ्ग प्रणाली मार्फत गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुलाई जारी गरेको एकीकृत परिपत्र–२०७४ मार्फत यस्तो निर्देशन दिएको हो ।

 क्यासिनोहरुले कारोबार सञ्चालन गर्नु पूर्व राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार सम्बन्धमा इजाजत लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै क्यासिनोहरुले आफ्नो कारोबार बैंकिङ्ग प्रणाली मार्फत सञ्चालन गर्नुपर्नेछ । क्यासिनोका खेलाडीहरुले पाँच हजार अमेरिकी डलर वा सो सरह परिवत्र्य विदेशी मुद्रा नगदै लिन सक्नेछन् । सो भन्दा बढी रकमको हकमा भन्सार घोषणा गरी प्रमाणित गरेको वा बैंकिङ्ग प्रणाली मार्फत रकम प्राप्त गरेको हुनुपर्नेछ । साथै इजाजत प्राप्त क्यासिनोहरुले बैंकरुसँग आवश्यक सम्झौतागरी क्यासिनो खेलाडीसँग पोइन्ट अफ सेल मार्फत विदेशी मुद्रा प्राप्त गर्न सक्ने सुविधा राष्ट्र बैंकले दिएको छ ।

त्यस्तै क्यासिनोहरुले कारोबारमा प्राप्त हुने नगद विदेशी मुद्राहरु भोलिपल्टै आफ्नो खाता रहेको बैंकमा जम्मा गर्नुपर्नेछ । भारतबाट क्यासिनोमा आउने भारतीय मुद्राको छुट्टै खाता खोल्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सो खातामा बैंकिङ्ग च्यानल मार्फत प्राप्त हुने भारतीय मुद्रा जम्मा गर्नुपर्ने र खेलाडीले जितेमा सोही खाताबाट भुत्तानी गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसरी कारोबार गर्दा तोकिएको बेट लिमिट भित्र रहनु पर्नेछ ।

खेलाडीले बैंकमा रकम जम्मा भौचर, स्लिप वा स्विफ्टको आधिकारिक कागजात काउन्टरमा पेश गरेपछि खेलाडीलाई सो अनुसारको नम्बर उल्लेख भएको क्वाईन वा चिप्स प्रदान गरी त्यसको रेकर्ड राख्नुपर्नेछ ।क्यासिनोले भारतीय मुद्रा खातामा भारु दश करोड र परिवत्र्य विदेशी मुद्रा खातामा २० लाख अमेरिकी डलरसम्म मौज्दात राख्न पाउनेछन् । सो भन्दा बढी रकम जम्मा भएपछि नेपाली मुद्रा खातामा रकमान्तर गर्न पाउनेछन् भने खेलाडीले जितेको रकम यही मौज्दातबाट दिनुपर्नेछ । 
क्यासिनोहरुले राष्ट्र बैंकबाट इजाजतपत्र लिई सोही आधारमा बैंक तथा वित्तीय संस्थामा परिवत्र्य विदेशी मुद्रा खाता तथा भारतीय मुद्रा खाता खोल्न सक्नेछन् ।

त्यस्तै जुन खेलाडीको नाममा रकम जम्मा भएको छ त्यही खेलाडीलाई मात्र खेलाउन पाइनेछ । खेलाडीले जितेमा सोही बैंकिङ च्यानल मार्फत भुत्तानी गर्नुपर्ने छ भने क्यासिनोको मुनाफा आर्जनको आधारमा राष्ट्र बैंकले तोकेको सिमा सम्मको रकम मात्र बैंकिङ्ग च्यानल प्रयोग गरी भुक्तानी दिनेछ ।

तपाईंको बिचार