Monday, April 22, 2019

बैंकको संख्या १५ मा झार्न बैंकरबाटै प्रस्ताव

प्रकाशित मिति: 2018/06/13

काठमाडौं । बजारमा फोर्स मर्जरका विषयमा आवाज उठ्दै गर्दा बैंक तथा वित्तीय संस्थाका संगठनहरुबाट नै वाणिज्य बैंकको संख्या घटाउनुपर्ने आवाज आएको छ ।

 बुधबार राजधानीमा आयोजित मौद्रिक नीति सम्बन्धि अन्तरकृयामा नेपाल डेभलपमेन्ट बैकर्स संघका कार्यबाहक अध्यक्ष गोविन्द ढकालले वाणिज्य बैंकको संख्या १२ देखि १५ वटामा सीमित गर्नु पर्ने बताएका छन् । पुँजी वृद्धिको माध्यम हकप्रद शेयरलाई मात्र बनाईँदा अहिले व्याजदर अस्थिरताको समस्या आएको बताउँदै उनले ठूला बैंकहरुका बिचमा अझै मर्जर आवश्यक रहेको बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाललाई मौद्रिक नीतिका सम्बन्धमा सुझाव दिँदै ढकालले भने, अहिले उत्पन्न समस्या र आगामी दिनको यात्रालाई हेर्दै ठुला बैंकहरुका बिचमा मर्जर गराएर १२ देखि १५ वटा मात्र वाणिज्य बैंक सञ्चालन गर्नुपर्छ ।

बैंकहरुको पुजी वृद्धि भए पनि अन्य स्रोत साधनलाई ध्यान नदिई अन्धाधुन्ध कर्जा परिचालन गरेकाले भविष्यमा केही समस्या आउन सक्ने आंकलन समेत ढकालले गरे । विकास बैंकको महत्व काठमाडौं उपत्यकाको तुलनामा स्थानीय स्तरमा बढी रहेको बताउँदै उनले विकास बैंकले स–साना ऋणहरु प्रदान गर्ने भएकाले स्थानीय स्तरको सरकारी खाता विकास बैंकलाई पनि सञ्चालन दिइनुपर्नेमा जोड दिए ।

राष्ट्र बैंकले कृषिमा अनिवार्य ऋण लगानी गर्नुपर्ने प्रावधान ल्याए पनि सोही अनुसार केही छुटको व्यवस्था आगामी मौद्रिक नीतिमा भए आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्न सजिलो हुने उनको भनाई थियो ।

तपाईंको बिचार