Saturday, February 16, 2019

उखु किसानको पैसा नदिने उद्योगी पक्राउ गर्न सरकारको निर्देशन

प्रकाशित मिति: 2018/06/24

काठमाडौं । उखु किसानको पैसा समयमा भुक्तान नगरेको भन्दै सरकारले ४ जना चिनी उद्योगीलाई पक्राउ गर्न ३ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । उद्योग मन्त्रालयले गृहमन्त्रालयसँगको समन्वयमा उनीहरुलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका अनुसार एभरेष्ट सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज महोत्तरीका सञ्चालक शशिकान्त अग्रवाल, बागमति सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशप्रसाद अग्रवाल तथा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रीज सर्लाही र इन्दीरा सुगर मिल्स नवलपरासीका सञ्चालकहरु ज्ञानप्रसाद भट्टराई र राकेश अग्रवाललाई पक्राउ गर्न निर्देशन दिइएको हो ।

उद्योगमन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरी उखुकिसानको पैसा नतिर्नेहरुलाई पक्राउ गर्न आग्रह गरेको थियो । सोही अनुसार गृहमन्त्रालयले नवलपरासी, महोत्तरी र सर्लाहीका जिल्ला प्रशासन कार्यालयलाई उल्लेखित व्यक्तिलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

उखु किसानलाई दिनुपर्ने रकम भुक्तान नगराई कार्यालय बन्द गराउँदा किसान मारमा परेको निर्देशनमा उल्लेख छ । तत्काल ४ जनालाई पक्राउ गरि कानुन अनुसार कारवाही गर्न पनि मन्त्रालयले प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । प्रत्येक कामको विबरण गृहलाई जानकारी गराउन पनि निर्देशनमा भनिएको छ ।

तपाईंको बिचार