Saturday, August 24, 2019

राजधानीका चार ‘स्मार्ट सिटी’को डीपीआर धमाधम हुँदै

प्रकाशित मिति: 2018/06/26

काठमाडौं । काठमाडौं उपत्यकाको चार कुनामा नयाँ शहर निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) धमाधम निर्माण भैरहेको छ । 

 
चारवटा नयाँ शहरमध्ये तीनवटा नयाँ शहरको डिपिआर धमाधम निर्माण भैरहेको उपत्यका विकास प्राधिकरणका शहरी योजनाकार भागवत भट्ट खोखालीले जानकारी दिए। उनका अनुसार चौथो नयाँ शहरको पनि टेण्डर मुल्याङकन भैरहेको छ। एक साताभित्र टेण्डर प्रक्रिया सकेर फिल्डमै काम सुरु हुनेछ।
 
‘काठमाडौं इशान’ को डिपिआर बनाउनका लागि फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले गरिरहेको छ। सर्टलिष्टमा परेका ५ वटा कम्पनीमध्ये फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभी उत्कृष्ट ठहरिएको हो। कम्पनीले १८ महिनाभित्र डिपिआर तयार पार्ने छ। यो उपत्यकामा निर्माण गर्न लागिएको सबैभन्दा ठूलो क्षेत्रफलको नयाँ शहर हो । जुन १ लाख रोपनी क्षेत्रफलमा फैलने छ।
 
पुर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म तथा पश्चिममा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट मैदानबाट मुलपानीको गोठाटार हुँदै मनोहरा खोलाको पुलबाट भक्तपुर जानेबाटोसम्म फैलिने छ। त्यसैगरी उत्तरमा साँखु बजार तथा दक्षिणमा भक्तपुरको बाटोसम्म पुग्नेछ । ‘काठमाडौं आग्नेय’ र ‘काठमाडौं नैऋत्य’ डिपिआर निर्माणको जिम्मा  इमआरसी एनइएसिटी एडी जेभीले पाएको छ। यसले काम सुरु गरेर पहिलो चरणको रिपोर्ट समेत बुझार्इसकेको उपत्यका विकास प्राधिकरणले जनाएको छ ।
 
काठमाडौं आग्नेय पुर्वमा अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि मन्दिरसम्म त्यहाँबाट सुर्य विनायकको जंगललार्इ बाहिर पार्दै शहर निर्माण हुनेछ। पश्चिममा शहरेखोला, बालकोट विरुवासडक, पानी ट्याङकी, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्गको सिमानालार्इ छुने छ। यो शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म पुग्नेछ। दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट, जंगलछेउ, अनन्त लिङगेश्वर, फेदी तर्खगाल, पात्लेश्वर, विरुवा हुँदै खहरेसम्म पुग्नेछ । काठमाडौं नैऋत्य ललितपुरलार्इ समेटेर निर्माण हुनेछ। पुर्वमा छ्यासिकोटदेखि साविकको संवु गाविसको सिमाना हुँदै फर्सिडोल बागमती नदिको झोलुङगे पुलसम्म पुग्नेछ। पश्चिममा बागमती नदिको सिमानासम्म तथा उत्तरमा सैवु गाविसको सिमाना छुनेछ। दक्षिणतर्फ भने बागमती नदिसम्म फैलने छ। यी दुवै शहरको क्षेत्रफल १०÷१० हजार रोपनी हुनेछ भने  १५ महिनामा दुवैको डिपिआर तयार हुनेछ।
 
चौथो नयाँ शहर काठमाडौं उत्तरको टेण्डर मुल्याङकन भैरहेकाले एक साताभित्र टुङगो लाग्ने उपत्यका विकास प्राधिकरणले जनाएको छ । यो पनि १० हजार रोपनी क्षेत्रफलमा नै फैलनेछ। पुर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपास पुग्नेछ। पश्चिममा काभ्रेस्थली, बाइपास जाने मुख्य सडकसम्म जोडिने छ। उत्तरमा सपनातिर्थ हुँदै काभ्रेस्थलीतिर जानेछ। दक्षिणमा  ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेवखोला काभ्रेस्थलीको मुल सडकको पुलसम्म पुग्नेछ।
 

तपाईंको बिचार