Thursday, October 17, 2019

लगानीकर्ता कारोबारसँग तर्सिदाँ परिसूचक घट्योः प्रधानमन्त्री ओली

प्रकाशित मिति: 2018/06/29

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारका लगानीकर्ता कारोबारसँग तर्सिदाँ नेप्से परिसूचक घट्ने गरेको बताएका छन् । ओलीले चुनाबको समयमा राजनैतिक व्यक्तिहरु चुनाबी माहोलमा होमिए पनि आर्थिक क्रियकलाप गर्ने व्यक्तिहरु आर्थिक गतिविधिमा नै लागेपनि नेप्से घटेकोमा आर्श्चय लागेको बताए । 

प्रतिनिधिसभाको शुक्रबारको विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले अब सरकार सुस्थिर र सु–व्यवस्थित ढंगले अगाडि बढ्ने भन्दै आश्वस्त हुन सेयर बजारका लगानीकर्तालार्इ आग्रह गरे ।

उनले भने चुनाब ताका किन नेप्से सूचक घटेको घटै थियो, हामी पो चुनाबमा लागेका थियौं त । त्यहि क्रियकलाप गर्नेहरु त आर्थिक गतिविधि र क्रियकलाप नै गरिरहेका थिए नि त । उनीहरु आत्तिँदा रहेछन् र कारोबारसँग त्रसिदाँ रहेछन्, नेप्से परिसूचक घट्दो रहेछ । अब सुस्थिर ढंगले सही बाटोमा हामी अगाडि बढ्दैछौं, म आश्वश्त रहन आग्रह गर्दछु ।

प्रधानमन्त्री ओलीले अहिले सबै राजनैतिक दलहरुको विचार फरक भएपनि देश विकास गर्ने चिन्ता भने मिलेको बताए । स्रोत सुनिश्चितता नभएका आयोजनालाई स्रोत सुनिश्चितता भन्दै विगतका सरकारले बजेट छुट्टाउने गरेको समेत उनले आरोप लगाए । यसले आर्थिक अराजकता, गम्भिर अनियमितता, र गम्भिर आर्थिक स्वेच्छाचारिता कायम भएको र अहिलेको सरकारले यस्तो अवस्थाबाट देशलाई आर्थिक अनुशासन र नियमिततामा ल्याएर कानून अर्न्तगत चलाएर अगाडि बढ्नु परिरहेको उनले बताए ।

फरक प्रसंगमा ओलीले संविधान कहिल्यै संसोधन नगर्नेगरि नबनाएको तर सरकारले कसैको प्रभावमा र दबाबमा परेर संविधान संसोधन नगर्ने बताए । उनले संविधान संसोधनीय, परिवर्तनशील दस्तावेज भएकाले समयको माग, जनताको चाहना, विकासको निम्ति तथा औचित्य र आवश्यकताको आधारमा मात्र संविधान संसोधन हुनसक्ने बताएका छन् ।

तपाईंको बिचार