Thursday, June 20, 2019

१४० मेगावटको तनहुँ हाइड्रोको पीपीए सम्झौता

प्रकाशित मिति: 2018/06/29

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए)मा हस्ताक्षर भएको छ । तनहुँ जलविद्युत आयोजना  कुलेखानी निर्माण भएपछि पिपिए हुने पहिलो जलाशययुक्त जलविद्युत आयोजना बनेको छ ।

 प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनीका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले जलाशययुक्त आयोजनाको पीपीएमा हस्ताक्षर गरेका हुन् । पिपिएअनुसार प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर–१५ जेठ) मा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाम (१६ जेठ–१५ मंसिर) मा प्रतियुनिट ६ रुपैयाँ ०८ पैसामा खरिद गर्ने तनहुँ हाइड्रोपावर कम्पनीका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए।
 
साथै उक्त दरमा कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि पाउने व्यवस्था छ । मूल्यवृद्धि पश्चात (९७ औं महिनादेखि) आयोजना अवधिभर खरिद दर प्रतियुनिट सुख्खायाममा १५.३८ र वर्षायाममा ७.५४ रुपैयाँ कायम हुने छ । पिपिएको सम्झौता अवधि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुने मितिदेखि ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन कम हुन्छ त्यही समयसम्म कायम रहनेछ ।
 
आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति ३० चैत २०८० (१२ अप्रिल २०२४) तोकिएको छ । यसअघि डिसेम्बर २०२२ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । साथै व्यापारिक उत्पादन शुरु हुने मिति कायम भएको महिनाको अर्को वर्षमा वार्षिकरुपमा वर्षायाममा उपलब्ध गराइएको ऊर्जाको अनुपातमा ऊर्जाको खरीद दर समायोजन गरिने व्यवस्था गरिएको छ । आयोजनाको सुख्खा र वर्षायामको क्रमश १७ करोड ८९ लाख र ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम गरिएको छ ।  
 
यदि कुनै वर्षमा आयोजनाबाट उपलब्ध गराइएको सुख्खायामको ऊर्जा कुल वार्षिक उपलब्ध गराइएको ऊर्जाको ३५ प्रतिशत भन्दा कम भएमा उक्त वर्षको लागि आयोजनाले जलाशययुक्त आयोजनाको सट्टा अर्ध–जलाशययुक्त आयोजनाको लागि तोकिएको खरिद दर लागू हुने व्यवस्था गरिएको छ । प्राधिकरणले अर्ध–जलाशययुक्त आयोजनाका लागि शुख्खा र वर्षायामका लागि प्रतियुनिट क्रमश १० रुपैयाँ ५५ पैसा र ४ रुपैयाँ ८० पैसा खरिद दर निर्धारण गरेको छ। 
 
प्राधिकरणले व्यापारिक उत्पादन सुरु हुने मितिदेखि प्रत्येक महिना आयोजनाबाट उत्पादन हुने सम्झौता ऊर्जाको परिमाणसम्मको उर्जा खरिद गर्नु पर्नेछ । आयोजनाले सम्झौता भन्दा धेरै ऊर्जा उत्पादन गरेमा ५० प्रतिशत मूल्य घटाएर प्राधिकरणलाई बेच्ने छ । 

आयोजनाको मुख्य संरचनाहरुको निर्माण कार्य नोभेम्बर २०१८ बाट सुरु गर्ने र ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट तनहुँ जिल्लाको ब्यास नगरपालिकासहित भीमाद, छाङ, माझकोट, रिसिङ, कोटदरबार, जामुने, साभुङलगायतका क्षेत्र प्रभावित हुनेछन्।
 

तपाईंको बिचार