Saturday, February 16, 2019

साञ्जेन र रसुवागढी जलविद्युतको शेयर वितरण प्रक्रिया स्थगन

प्रकाशित मिति: 2018/07/02

रसुवा । निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत शेयर वितरणको प्रक्रिया स्थगन भएको छ । 

रसुवाका सबै जनप्रतिनिधि र सरोकारवाला निकायबीच सोमबार भएको छलफलले शेयर वितरण स्थगन गर्ने निर्णय भएको हो ।  रसुवावासीसँग रकम अभाव भएका कारण विद्युत् उत्पादन नभएसम्मका लागि जिल्लावासीले पाउने शेयरको वितरण प्रक्रिया स्थगन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए ।

रसुवावासीका लागि १० प्रतिशत शेयर दिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम रसुवागढीले ६८ करोड ४२ लाख रुपैयाँ तथा साञ्जेन माथिल्लो र तल्लो जलविद्युत् आयोजनाले ३६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर पाउने तय भएको थियो । भूकम्पपछिको आवास पुनःनिर्माणका कारण नागरिकको आर्थिक अवस्था कमजोर भएको निष्कर्ष निकाल्दै विद्युत् उत्पादन नहुन्जेलका लागि शेयर वितरण प्रक्रिया स्थगन गर्न जनप्रतिनिधिले निर्णय लिएको जिल्ला समन्वय समिति रसुवाले जनाएको छ । 

कानून संशोधन गर्न अर्थमन्त्रालयमार्फत धितोपत्र बोर्डमा आग्रह गर्ने 
भूकम्पपछि आवास पुनःनिर्माण भइरहेको र स्थानीयवासीलाई घर बनाउन रकम अपुग भइरहेको अवस्थामा गाउँमा चर्को ब्याजको रकमबाट विद्युत् उत्पादन नहुँदै शेयर खरिद गर्न बाध्य बनाउँदा जिल्लावासीको हित नहुने निष्कर्ष निकाल्दै सहजीकरणका लागि कानून संशोधन गर्न अर्थमन्त्रालयमार्फत धितोपत्र बोर्डमा आग्रह गर्ने निर्णय समितिले गरेको छ । विद्युत् उत्पादन हुन २० महिनाभन्दा बढी समय लाग्ने आयोजनाले जनाएको छ ।

भूकम्पपछिको आवास निर्माण गर्न सरकारले दिएको अनुदान रकमले धौधौ परिरहेको अवस्थामा विद्युत् उत्पादन भएपछि मात्र शेयर बाँडफाँड गर्ने प्रावधानका लागि जनप्रतिनिधिले राखेका धारणा नै सही भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । 

अन्यको प्रकृया अगाडि बढाउन आग्रह
जनप्रतिनिधिहरूले स्थानीयबासिको सेयर स्थगन गर्न माग गरेपनि  सर्वसाधारण र अन्य क्षेत्रका लागि छुट्याइएको शेयर निष्काशन प्रक्रिया भने अगाडि बढाउन आयोजनासमक्ष आग्रह गरेका छन् ।

आयोजनाको वस्तुस्थितिबारे रसुवागढी जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक माधव कोइराला र साञ्जेन जलविद्युत् कम्पनीका कार्यकारी प्रमुख किरण श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । तेह्र अर्ब ६४ करोड ४० लाखको लागतमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढीले ६२ प्रतिशत र रु सात अर्ब २४ करोड ३२ लाखको लागतअन्तर्गत दुई भागमा निर्माणाधीन ५७ दशमलव ३ मेगावाटको साञ्जेनले ७० प्रतिशत निर्माण पूरा भएको जनाएका छन् ।

यहाँ सञ्चालित विद्युत् आयोजनामा राजनीतिक प्रभाव परेको र कर्मचारी भर्ना छनोट अपारदर्शी भएको प्रतिनिधिसभा सदस्य मोहन आचार्यले आरोप लगाएका छन् । कर्मचारी भर्नाको स्पष्ट मापदण्ड बनाई पारदर्शी र निष्पक्ष तवरले अगाडि बढ्न उनले आग्रह गरे । छलफल कार्यक्रममा प्रतिनिधिसभा सदस्य आचार्य, प्रदेशसभा सदस्यद्वय प्रभात लामा र प्रेम तामाङ, जिल्लाका पाँचवटै गाउँपालिका प्रमुख र उपप्रमुख, वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो । –रासस

तपाईंको बिचार