Wednesday, February 20, 2019

साउन १ देखि अनलाइन शेयर कारोबार परीक्षण हुने

प्रकाशित मिति: 2018/07/16

काठमाडौं । पूर्ण स्वचालित अनलाइन शेयर कारोबार प्रणालीको मंगलबार (साउन १) देखि परीक्षण कारोबार सुरु हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ५० वटै शेयर दलाल (ब्रोकर) मार्फत परीक्षण कारोबार सुरु गर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार अनलाइन प्रणालीकालागि नेप्सेले दिएको निर्देशन अनुसार सबै सदस्य दलाल व्यवसायीले पूर्वाधार तयार गरेका छन् । अनलाइन प्रणाली कार्यान्वयनमा लैजान धितोपत्र दलाल व्यवसायीले आइतबार दुईवटा डाटा सेन्टर सेवा प्रदायक कम्पनीसँग सम्झौता गरेको पराजुलीले बताए।

२५ दलाल व्यवसायीले (सिल्भर लाइन) र २५ ले (एसेस वर्ल्ड)सँग सम्झौता गरेका हुन् । सिल्भर लाइन मर्कन्टायलले प्रवर्द्धन गरेको कम्पनी हो भने एसेस वर्ल्डले केही वर्षदेखि प्रविधि क्षेत्रमा काम गरिरहेको छ । मंगलबारदेखि लगानीकर्ताले दलाल व्यवसायी मार्फत अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड लिन सक्ने पराजुलीको भनाइ छ ।

तर लगानीकर्ता आफैँले खरिद बिक्री आदेश भने युजर एसेप्टेन्स टेस्टिङ (युएटी) पछि  मात्रै  दिन पाउने पराजुलीले बताए । युएटी यस्तो प्रक्रिया हो जसबाट सफ्टवेयरको प्रोसेसिङ सफल छ वा छैन जाँच गरिन्छ । यो जाँच अर्थात सफ्टवेयरको अन्तिम परीक्षण सकिएपछि मात्रै लगानीकर्ताले कारोबारमा प्रत्यक्ष संलग्न हुन पाउनेछन्।

तपाईंको बिचार