Wednesday, April 26, 2017  |    

समितिले अनावश्यक हस्तक्षेप गरे : उर्जामन्त्री ज्ञवाली

प्रकाशित मिति: 2015/08/19

काठमाडौं, भदौ १ । उर्जामन्त्री राधा ज्ञवालीले व्यवस्थापिका संसदको समितिहरुले उर्जा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएकी छन् ।

नेपाल विद्युत् प्राधिकरणको ३०औं वार्षिकोत्सवमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले समितिहरु सहयोगी बन्नुपर्नेमा हस्तक्षेपकारी भूमिकामा आएको आरोप लगाइन् । समितिहरुकै हस्तक्षेपका कारण पनि उर्जा क्षेत्रमा सुधार ल्याउन नसकेको उनको दाबी थियो ।

मन्त्री ज्ञवालीले अभाव भएको मिटर बक्स र ट्रान्सफर्मर प्रक्रियाबाट ल्याउँदा ढिलो हुने भएकाले सरकारी तहबाटै छलफल गरेर ल्याउने पनि बताइन् । ३० हजार मिटर बक्स र आवश्यक ट्रान्सफर्मर ल्याउने तयारीका लागि प्राधिकरणलाई निर्देशन दिएको उनले उल्लेख गरिन् ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले हाल २४ प्रतिशत बढी बिजुली चुहावट रहेको बताए । गत वर्ष शून्य दशमलव २ प्रतिशत चुहावट नियन्त्रण गरिएको उनको भनाइ थियो ।

गत आर्थिक वर्षमा ५ सय ८५ मेगावाट विद्युत् अपुग हुँदा लोडसेडिङ भएको प्राधिकरणले जनाएको छ । वार्षिकोत्सवमा कर्मचारी युनियनका प्रतिनिधिहरुले डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

तपाईंको बिचार