Friday, October 18, 2019

नेपाली बुलेटले ग्याँस ढुवानी गर्ने

प्रकाशित मिति: 2018/09/29

काठमाडौं । अबदेखि नेपालका ग्याँस बुलेटले नै खाना पकाउने ग्याँस आयात गर्ने भएका छन् ।

नेपाल र भारतका उच्च अधिकारीबीच आज भएको दुई पक्षीय वार्तामा नेपालका ५३ ग्याँस बुलेटले खाना पकाउने (एलपिजी) ग्याँस ढुवानी गर्नेछन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच आज राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्याँस बुलेटले नै एलपिजी ग्याँस ढुवानी गर्ने दुई पक्षीय सहमति भएको जानकारी दिए । उनले रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा भारतीय पक्षसँग छलफल भएको जानकारी दिँदै प्राकृतिक ग्याँस प्रवाहका लागि सर्वेक्षण अध्ययन गरिने बताए ।

मन्त्री प्रधानले मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको काम दू्रतगतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले त्यसमा सन्तोष व्यक्त गरेका बताउँदै शिघ्र परियोजना सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

उनले भारतले मुजफ्फपुर–मोतिहारी–गोरखपुर प्राकृतिक ग्याँसको पाइपलाइन बिछ्याइएको र नेपाललाई त्यसबाट कसरी फाइदा पु¥याउन सकिन्छ भन्ने सन्दर्भमा पनि आफूहरूबीच विचार विमर्श भएको बताए ।

मन्त्री प्रधानले नेपालमा मल कारखाना स्थापना गर्न भारतका केही कारखानाको निरीक्षणका निम्ति नेपालका उद्योग वाणिज्य तथा आपूर्ति र कृषिमन्त्रीलाई भारत भ्रमण गर्न आमन्त्रण गरिएको जानकारी दिए ।

सौहार्दपूर्ण वातावरणमा भएको उक्त बैठकमा दुवै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका उच्च अधिकारी सहभागी थिए ।

नेपाल र भारतबीच २०७२ साल भदौ ७ गते उक्त परियोजना निर्माण गर्न मन्त्रिस्तरीय सम्झौता भएको थियो । त्यसको दुई वर्षपछि नेपाल र भारतका प्रधानमन्त्री क्रमशः केपी शर्मा ओली र नरेन्द्र मोदीले शिलान्यास गरेका थिए ।

काम शुरु भएको ३० महिनाभित्र पाइपलाइनको सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ ६८ दशमलव ९ किलोमिटर लामो उक्त पाइपलाइन निर्माणको काम दू्रतगतिमा भइरहेको छ । परियोजना पूरा भएपछि नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले प्रतिघण्टा १९१ किलोलिटर इन्धन आयात गर्न सक्नेछ ।

तपाईंको बिचार