Sunday, April 21, 2019

अलैंचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा

प्रकाशित मिति: 2018/10/04

इलाम । ‘खोल्सीको सुन’ उपनाम पाएको अलैंचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् । अलैंचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा छन् ।
केही वर्षअघि पनि यस्तै संक्रमण देखा परेपछि किसानले अलैँची खेती नै छाडेका थिए । पुनः अलैँचीमा सुधार भएपछि आफ्नो करेसाबारी समेत खाली नराखी किसानले अलैची खेती गरेका थिए । पर्याप्त आम्दानी लिइरहेका बेला रोग देखिएपछि अलैँचीको विकल्प खोज्नु परेको माइजोगमाई गाउँपालिका प्याङका दीपक नेपाल बताउँछन् ।
‘अलैँचीको फूलमा मकैको घोगा जस्तो देखिने समस्या आएको छ । अलैँचीमा दाना लाग्नुपर्नेमा कुहिन थालेको छ ।’ गत वर्ष दुई मन ९एक मनको ४० किलो० उत्पादन भएको अलैँची यस वर्ष त्यही दरमा मात्र उत्पादन हुने देखिएको नेपाल बताउँछन् ।
‘त्यही दरमा उत्पादन बढेको भए यस वर्ष चार मन उत्पादन हुन्थ्यो’, उनले भने । सन्दकपुर गाउँपालिका सुलुबुङका किसान नेत्र रिजाल पनि जुर्जरे र डढुवा रोगको संक्रमणले अलैँची मासिँदै गएको बताए । तीन रोपनी जग्गामा गत वर्ष ६ मन उत्पादन भएको अलैँची यस वर्ष डेढ मनमात्र उत्पादन भएको उनको भनाइ छ ।
जिल्लाका सबै क्षेत्रमा अलैँचीमा रोग देखा परेको छ । कतिपय ठाउँमा पुरानै जुर्जुरे, स्याङ्ले जस्ता रोगले अलैँची मासिँदै छ भने केही ठाउँमा अलैँचीको गानो कुहिने समस्या छ ।
अलैँची रोपाइँमा नै समस्या भएकाले पर्याप्त उत्पादन दिन नसकेको र कम समयमै मासिने गरेको कृषिविज्ञ योगेन्द्रमान श्रेष्ठको भनाइ छ । उनका अनुसार पछिल्लो समय बारीमा अलैँची लगाउने गरेको र पानी बढी हुने हुनाले अलैँची मासिने गरेको छ ।
‘अलैँचीलाई सुख्खा बारी आवश्यक हुन्छ, बारीमा पानी बढी भएकाले अहिले रोग लागेको हो’, श्रेष्ठले भने, ‘अहिले गानो कुहिने समस्या देखिएको छ ।’ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार नेपालबाट विदेश निर्यात हुने वस्तुको सूचीमा अलैँची दोस्रो स्थानमा छ ।
नेपालबाट वर्षेनी साढे चार अर्बको अलैँची निर्यात भइरहेको तथ्याङ्क छ । केन्द्रका अनुसार सन् २०१७ मा नेपालबाट ७६ लाख ६० हजार ६७७ किलो अलैँची निकासी हुँदा चार अर्ब ५० करोड ६३ लाख आम्दानी भएको थियो ।

तपाईंको बिचार