Thursday, April 18, 2019

चिनीको मुल्य लेखाले तोक्यो ६३ मन्त्री भन्छन् ७०

प्रकाशित मिति: 2018/10/06

काठमाडौँ । चिनीको बजार मूल्यको विषयमा सार्वजनिक लेखा समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच विवाद देखिएको छ । समितिले चिनीको खुद्रा मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो ।

बुधबार मन्त्रालयले चिनीको अधिकतम खुद्रा बिक्री मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । बिहीबार समितिले ६३ रुपैयाँ तोक्न पत्र पठाएपछि दुई निकायबीच विवाद देखिएको हो ।

‘समितिबाट चिनीको भाउ ६३ रुपैयाँ तोक्न पत्र आएको छ । भाउ कार्यान्वयन गर्ने हैसियत मन्त्रालयको छैन । हाम्रो औकातको विषय होइन,’ शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आपूर्तिमन्त्री मातृका यादवले भने, ‘पत्रको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्छु । प्रधानमन्त्रीको निर्देशनपश्चात कार्यान्वयन हुन सक्छ ।’ उनले समितिलाई व्यंग्य गर्दै तरकारीलगायत अन्य खाद्यान्नको भाउ तोकिदिन आग्रह गरे । भाउ तोक्न मन्त्रालयले समितिलाई पत्र पठाउने उनले बताए ।

‘समितिसँग सबै तथ्यांक छ, तरकारी, दाल, चामलको भाउ पनि तोकिदिए हुन्थ्यो । मन्त्रीले कति घूस खाएको पनि तथ्यांक छ,’ मन्त्री यादवले भने, ‘कहाँबाट केरचिज आएको सबै तथ्यांक समितिसँग छ । त्यसैले सबैको मूल्य तोकिदिए सजिलो हुन्थ्यो ।’ बिहीबार समितिको बैठकपछि निर्णय सुनाउँदै समिति सभापति भरतकुमार शाहले मिल मालिकले उखु किसानलाई दिनुपर्ने भुक्तानीलाई मध्यनजर गर्दै सरकार ९प्रधानमन्त्रीसमेत०, चिनी उद्योग महासंघ र उखु किसानसमेतको उपस्थितिमा भएको बैठकमा तय गरिएको गेट मूल्य ५३ रुपैयाँ र ६३ रुपैयाँ खुद्रा बिक्री मूल्यलाई सरकारले कडाइका साथ लागू गर्न निर्देशन दिएको थियो ।

तर, मन्त्री यादवले प्रधानमन्त्रीसँगको छलफलमा चिनीको मूल्य ६३ रुपैयाँ तोक्ने निर्णय नभएको दाबी गरे । ‘प्रधानमन्त्रीसँगको छलफलमा मूल्य तोकेका छैनौं । तोकेको भए समितिलाई थाहा होला । प्रधानमन्त्रीसँग गोप्य कोठामा तोकिएको भए मलाई जानकारी छैन,’ मन्त्री यादवले भने, ‘हामी बसेका बेला त्यो निर्णय भएको छैन । कोसँग सम्झौता भयो, लिखित भएनभएको समितिले सोध्नुपथ्र्यो ।’

चिनीको बजार भाउ बढाउनमा आर्थिक चलखेल भएको भन्ने आरोप तथ्यहीन भएको उनले दाबी गरे । तथ्यहीन आरोप लगाउनेमाथि छानबिन गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सभामुखसमक्ष निवेदन दिएको बताए । ‘एक अर्ब ६९ करोडको चलखेल भएको कुरा पनि आएको छ । प्रश्न उठेपछि छानबिन हुनुपर्छ,’ उनले भने, ‘दोषीमाथि कारबाही पनि हुनुपर्छ । त्यसका लागि सभामुखमा पत्र दर्ता गराएको छु ।’

यसअघि लेखा समितिको बैठकमा पूर्ववाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका सांसद लेखराज भट्टले चिनीमा ठूलो आर्थिक चलखेलकै कारण आयात रोकिएको, आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको सुन्नमा आएको उनले बताएका थिए । चिनीको बजारभाउ अवस्थाबारे छानबिन गर्न समितिले भट्टकै संयोजकत्वमा उपसमिति गठन गरिसकेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री यादवले आर्थिक अनियमितता पुष्टि गर्न चुनौती दिए । समितिमा छलफल हुनुअगाडि पनि मिडियाहरूमा चलखेल भएको, उद्योगीको पक्षमा लागेर, भ्रष्टाचार गरेको व्यापक समाचार सुनेको उनले बताए । समितिलाई व्यंग्य गर्दै मन्त्री यादवले भने, ‘अर्ब पैसा ट्रकमा दियो कि बोरामा दियो एक अर्बका लागि ठूलै ट्रक चाहिन्छ । पत्रकारहरूले पनि देखेका होलान्, त्यही भएर छटपटिएको हुन सक्छ ।’ पत्रकारसमक्ष उनले ‘जे पायो त्यही लेख्ने ’ भनेर पनि आक्रोश पोखे । उनले भने, ‘भ्रष्टाचार भएको छ भनेर लेख्ने, ठोस प्रमाण नदिने पत्रिका, अनलाइनहरूले सबै भ्रष्टाचार छन् भनेर भ्रष्टाचार बढाउन त खोजेको होइन भ्रष्टाचारको गन्धमा डुबाउन त खोजेको छैन मलाई त्यस्तो गन्ध आइरहेको छ सम्बन्धित संवैधानिक निकायले छानबिन गर्नुपर्छ ।

सरकारी निकायले गडबड गर्छ भने कारबाही गरियोस् । तर, जे मन लाग्यो त्यही लेखिदिने माथि पनि छानबिन होस् ।’

चिनीको भाउ बढाउन कसैले गल्ती गरेको भए त्यसलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले समितिको छलफलमा मन्त्रीलाई नबोलाएकोमा पनि आक्रोश पोखे । ‘यस्तो गम्भीर विषयमा मन्त्रीलाई नबोलाई सचिवलाई मात्रै सोध्ने । गम्भीर विषयमा समितिले मन्त्रीलाई बोलाउनु पथ्र्यो । भ्रष्टाचार भएको भन्ने छ, सचिवले खाएको त छैन होला उनले भने ।

पत्रकार सम्मेलनमा उनले अन्य खाद्यान्नको मूल्य तोक्न लेखा समितिलाई पटक पटक आग्रह गरे । ‘सबै चिजको भाउ तोकिदिए हुन्थ्यो,’ उनले भने, ‘पत्र लिएर प्रधानमन्त्रीसँग छलफल गर्छौं, फेरि पनि जोड के छ भने सबै चिजको भाउ तोकिदिए राम्रो हुन्थ्यो ।’

सांसदहरूले चलखेलकै कारण आयातमा परिमाणात्मक बन्देज लगाएको हाल बजारमा चिनीको मूल्य अकासिएको बताउँदै आएका छन् । अर्थतन्त्र मजबुत गर्न स्वदेशी उद्योगलाई पनि संरक्षण गर्नुपर्ने उनीहरूको भनाइ छ ।

सरकारले परिमाणात्मक बन्देज लगाएपछि बजारमा चिनीको भाउ अकासिएको छ । व्यवसायीहरूले पनि मनोमानी रूपमा मूल्य असुल्दै आएका छन् । यसको प्रत्यक्ष मार उपभोक्ताहरूले व्यहोर्दै आएको जनाइएको छ ।

तपाईंको बिचार