Thursday, October 17, 2019

मादल बनाएर वर्षमा छ लाख आम्दानी

प्रकाशित मिति: 2018/10/26

गोरखा । गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन्। कुलु समुदायका चार घरपरिवारले मादल बनाएर बिक्री गरी प्रतिपरिवार वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।

स्थानीय ५८ वर्षीय साने कुलुका तीन छोरा र एक छोरीले बाबुको पुर्ख्यौली पेशालाई पछ्याउँदै मादल बनाउने पेशामा लागेका हुन्। एकै स्थानमा छुट्टाछुट्टै पसल खोलेर उनीहरूले मादल बनाउन र बेच्न थालेको कम्तीमा करीब २० वर्षभन्दा बढी भयो। ‘सिजनको समयमा मादल पुर्‍याउन नै गाह्रो हुन्छ,’ जेठो छोरा हरीराम कुलुले भने, ‘बनाउन सके नबिक्ने भन्ने नै छैन।’ श्रीमान् र श्रीमती सरिता मिलेर महिनामा ५० वटा जति मादल बनाउने गरेको उनले बताए। ‘एउटा मादलको एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्ममा बिक्री हुने गर्छ,’ कुलुले भने, ‘सानो र ठूलो मादलको मूल्य फरक(फरक पर्छ।’ मादल बिक्रीबाट मासिक ७० हजार जति आम्दानी हुँदै आएको कुलुले बताए।


ती मादल नारायणघाट, काठमाडौं, हेंटौडालगायतका ठाउँमा लगेर बिक्री गर्ने गरेको उनको भनाइ छ। ‘त्यतातिरका व्यापारी कहिले आफैं आएर लैजान्छन्, कहिले हामी नै लगेर बेच्छौं,’ हरिरामकी श्रीमती सरिता कुलुले भनिन्, ‘बिक्री हुन गाह्रो छैन बरु बनाउनै गाह्रो छ।’ माइतीमा मादल बनाउने बारेमा ज्ञान नभएको बताउँदै सरिताले भनिन्, ‘बिहे गरेर आएपछि यही नै सिकेको हो, अहिले यही पेशाले छोराछोरी पढाउन र परिवार पाल्न पुगेको छ, अझै केही पैसा त बचत पनि गर्दै आएका छौं।’

बैंकबाट ऋण झिकेर मादल बनाउने व्यवसाय सुरु गरेको बताउँदै कुलुका माइला छोरा पूर्णबहादुर भन्छन्, ‘दसैं–तिहारको समयमा अलि धेरै व्यापार हुन्छ, महिनामा ५०–६० भन्दा बढी बनाउन सकिँदैन, त्यति भए पनि आफूलाई पुग्ने कमाइ भइरहको छ।’

वर्षभरिमा मादल बिक्रीबाट ७–८ लाखभन्दा बढी नै कमाइ हुने पूर्णबहादुरले बताए। ‘कान्छा भाइले त मान्छे नै राखेर काम गर्दै आएको छ,’ उनले भने, ‘ठूल्दाइ र मेरोभन्दा भाइको कमाइ राम्रो छ।’ उनीहरूले मादलसँगै पञ्चेबाजा, खैंजेडी, डमरु, धिमेबाजा, ढलकी, मृदुङ्गालगायतका छालाबाट बन्ने अन्य वाद्यवाधनका सामग्री बनाउने गरेका छन्। मादल बनाउन उत्तीसको काठको घार, छालालगायतका कच्चा पर्दाथ बाहिरबाट ल्याउनुपर्ने भएकाले भनेको समयमा सामान पाउन गाह्रो हुने उनीहरूको भनाइ छ । ‘मादल बनाउने घार धादिङको मूलखोलबाट ल्याउने गरेका छौं, पहिले हातले मादलको घार खोल्नुपर्थ्यो, अहिले मेशिनले खोलेको घार पाइन्छ,’ बाबु साने कुलुले भने, ‘एउटै घारको चार सयदेखि पाँच सयसम्म पर्छ।’

त्यस्तै मादल बनाउन प्रयोग गरिने गोरुको छाला, बाख्राको छालालगायतका सबै कच्चा पर्दाथ काठमाडौंबाट ल्याउने गरेको उनीहरूको भनाइ छ। दसैं–तिहारलगायतका सिजनमा दशकिलोमा उनीहरूले बनाएको मादल किन्न बागलुङ, काकँडभिट्टा, धरानदेखिका मान्छे आउने गरेको कुलुका छोरीज्वाइँ बाबुराम विकले बताए। दशकिलोमा रहेका साने कुलुको परिवार मात्र होइन, त्यहाँ बसोवास गर्दै आएका अन्य आठ घर कुलु समुदायले पनि मादल बनाएरै राम्रो आम्दानी गर्दै आएका छन्।

तपाईंको बिचार