Saturday, February 16, 2019

ढिलो फले पनि सुन्तला उत्पादनमा करिब ३० प्रतिशत वृद्धि

प्रकाशित मिति: 2018/10/27

सुनसरी । विगत वर्षहरूमा उपभोक्ताहरूले कात्तिक पहिलो सातादेखि पूर्वी पहाडी भेगमा फलेका सुन्तलाको स्वाद पाइसकेका थिए । तर, यो वर्ष त्यस्तो अवसर प्राप्त गर्न अझै तीन साता पर्खिनुपर्ने भएको छ ।

 

धरानको कृषिउपज बजारमा गत वर्ष असोज तेस्रो साता सुन्तला झरिसकेको थियो ।
गत वर्षको यही समयसम्म अर्थात् कात्तिक पहिलो सातासम्म करिब ५ करोड रुपैयाँको ५ सय मेट्रिक टन सुन्तलाको कारोबार भइसकेको थियो । बजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘यो वर्ष पूर्वी पहाडी भेगका सुन्तला आएकै छैन । उपभोक्ताहरूले सुन्तलाको स्वाद चाख्न अझै कम्तीमा दुई साता पर्खिनुपर्ने भएको छ ।’
सुन्तला उत्पादन हुने पूर्वी जिल्लाहरू धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, संखुवासभाका सुन्तला कृषकका बगानमा अझै पनि हरियै छन् । धनकुटास्थित खोकुका सुन्तला कृषक बर्मा राईले भने, ‘यो वर्ष कात्तिक पहिलो साता कटेर दोस्रो साता पनि लाग्न लाग्यो तर बोटको सुन्तलामा अझै रङ निस्कनै सकेको छैन । जब कि पोहोर परारतिर यतिबेला सुन्तलामा रङ निस्किसकेकाले टिपेर धरान झारेका थियौं ।’
वनस्पतिविज्ञ कमल मादेनका अनुसार सुन्तला कहिले ढिलो फल्नु र कहिले छिट्टै फल्नुमा बढी वर्षा र कम वर्षा, तापक्रम, जलवायु परिवर्तन आदिका कारणहरू रहेको हुन सक्छ । उनले भने, ‘यो वर्ष पूर्वी पहाडमा कम वर्षा भएको कारणले पनि सुन्तला उत्पादनमा ढिलाइ हुन सक्छ । तर, मुख्य कारण जलवायु परिवर्तनको असर नै हो ।’
तीन साता ढिलो भए पनि यो वर्ष सुन्तला उत्पादनमा करिब ३० प्रतिशत बढी उत्पादन हुनेमा भने कृषकहरू खुसी छन् । कम फलेको वर्षपछि अर्को वर्ष बढी फल्ने विश्वास कृषकहरूमा छ । पूर्वी पहाडमा गत वर्ष कम सुन्तला उत्पादन भएको थियो ।
धरानको कृषि बजारबाट व्यापारीहरूले इटहरी, विराटनगर, दमक, विर्तामोड, राजविराज, लहान, जनकपुर, काठमाडौं, पोखरासम्म लैजाने गरेका छन् । धनकुटास्थित खोकुको सुन्तला बढी नै रसिलो र स्वादिलो भएकाले राष्ट्रिय ख्याति कमाएको छ ।

तपाईंको बिचार