Sunday, August 25, 2019

ललिपुरमा सुरु भयो गोदावरी मेला

प्रकाशित मिति: 2018/11/01

ललितपुर ।१२ औँ गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी तथा मेला सुरु भएको छ । प्रदेश ३ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेको उक्त मेला चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

ललितपुरको जावलाखेल खेल मैदानमा बिहीबारबाट सुरु भएको मेलागोदावरी फूलको व्यवसायीक विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालले प्रत्येक वर्ष यो मेला आयोजना गर्दै आएको छ । एशोसिएसनका बरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले नेपालमा २०११ बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै काठमाडौ उपत्यका बाहेक पोखरा, नारायणघाट, हेटौडा लगायतका शहरमा समेत फैलदै गएको बताए ।

एशोसिएसनका अनुसार आर्थिक बर्ष २०७४/७५ सम्म आइपुग्दा ६९७ व्यवसायीले यो व्यवसाय गरिरहेका छन् । त्यस्तै ४३ जिल्लामा पुष्प व्यवसाय विस्तार भएको र १५५ हेक्टर क्षेत्रफलमा व्यवसाय हुँदा ४३ हजार ५ सय बढी यसमा आश्रित बनेका छन् ।

यो व्यवसायले पछिल्लो आर्थिक बर्षसम्म एक अर्व ८६ करोड सात हजार १९९ भन्दा बढि कारोबार भैसकेको छ ।  त्यस्तै पछिल्लो अर्थिक वर्षमा ११ करोड रुपैयाँको फुल आयात भएको तथा निर्यात २।३७२ करोड आयात भएको एसोशिएसनले जनाएको छ ।

यस वर्षको प्रतियोगितामा विजेता नर्सरीहरुको समेत घोषणा गरिएको छ । जसमा समझना नर्सरी पहिलो, टीटीआर कंलगामुखी दोस्रो तथा अजिमा नर्सरी तेस्रो भएका छन् ।
कार्यक्रममा ५ वटा नर्सरी उत्कृष्ठमा परेको समेत घोषणा गरिएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव, ललितपुरका प्रमुख जिल्ला अधिकारी बनस्पति विभागका महानिर्देशक र पुष्प व्यवसायीहरुले सहभागिता रहेको थियो ।

मेलामा ४४ वटा व्यवसायीक स्टल, सुचनामुलक ३ र गोदावरी फुलको प्रतिश्पर्धात्मक प्रदर्शनी स्टल एकसहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । जसमा गोदावरी फूलका ४५ प्रकारका फुल विरुवासहित ४५० प्रकार भन्दा बढिका फूल विरुवा रहेको आयोजकले जनाएको छ ।

तपाईंको बिचार