Wednesday, October 16, 2019

स्याउ आयात बर्षेनी घट्दै

प्रकाशित मिति: 2018/11/06

वीरगञ्ज। पछिल्लो चार महिनामा वीरगञ्ज नाकाबाट चार करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ र केरा आयात भएको छ ।

चालु आर्थिक वर्षको साउन देखि कात्तिक १५ सम्म भारतबाट वीरगन्ज नाका हुँदै दुई करोड ८२ लाख ४७ हजार रुपैयाँको ६ लाख १३ हजार केजी स्याउ र एक करोड ३८ लाख ४८ हजारको केरा भित्रिएको छ । आर्थिक वर्ष २०७४र०७५ को सोही अवधिमा वीरगन्ज नाका हुँदै चार करोड ७५ लाख ७६ हजारको १८ लाख ४१ हजार केजी स्याउ र केरा भारतबाट आयात भएको थियो ।

यसमा तीन करोड १० लाख ३८ हजार रुपैयाको ६ लाख ९१ हजार दुई सय ३० केजी स्याउ र एक करोड ६५ लाख ३८ हजारको ११ लाख ५० हजार केजी केरा थियो । गत वर्षको तुलनामा यसवर्ष ५४ लाख ८१ हजार रुपैयाँ कमको स्याउ र केरा आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताउनु भयो । पछिल्लो समय स्वदेशमा पनि यी वस्तुको उत्पादन बढेका कारण आयात घटेको हो ।

भारतभन्दा चीनबाट स्याउ आयात बढ्दै गएका कारण पनि भारत तर्फको आयात कम देखिएको छ । वीरगन्ज नाका हुँदै भारतबाट आयात हुने केरा मध्ये हरियो र लामो आकारको केरा भारतको आसामबाट र पहेलो साना आकारको केरा हाजीपुर र मुजफरपुरबाट ल्याउने गरिएको एक व्यापारीले बताए । स्याउ भने कश्मिरबाट ल्याइने गरिन्छ । चालु आर्थिकको कात्तिक १५ सम्म भारतबाट भित्रिएको स्याउ र केराबाट मात्रै वीरगन्ज भन्सार कार्यालयले ४२ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । स्याउ आयातबाट २८ लाख ८७ हजार र केराबाट १३ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

तपाईंको बिचार