Saturday, February 16, 2019

झापामा १ करोड ४४ लाख रुपैया बराबरको रबर उत्पादन

प्रकाशित मिति: 2018/11/23

झापा । कृषिजन्य उत्पादनका लागि झापाको भूमि उर्भर मानिन्छ । धान, चिया र सुपारी खेतीपछि झापामा पछिल्लो समय रबर खेतीप्रति कृषकको आर्कषण बढ्दो छ । अझ, यहीँ आर्थिक वर्षदेखि सरकारले झापालाई रबर खेतीका लागि जोन जिल्ला घोषणा गरेपछि व्यवसायिक रबर खेती गर्नेहरु उत्साहित बनेका छन् ।

धान र चिया भन्दा कम झन्झटिलो र बढी आम्दानी हुने भएपछि झापामा व्यवसायिक रबर खेतीमा आकर्षण बढ्दै गएको छ । झापामा २०४८ सालबाट रबर खेती सुरु भएपनि डेढ दशक अघिबाट व्यवसायिक रबर खेती गर्नेहरुको संख्यामा वृद्धि भएको छ । अझै पछिल्लो समय झापामा रबर खेती फस्टाउँदै गएपछि सरकारले चालु आर्थिक वर्षबाट झापालाई रबर जोन जिल्ला घोषणा गरेको हो ।

झापामा व्यक्तिगत तवरले कृषकले मात्र होइन सामुदायिकरुपमा सहकारी र सामुदायिक बनले समेत व्यवसायिक रबर खेती गर्ने क्रम बढेको छ । ‘अहिले हामीले रबरबाट वार्षिक सात लाख आम्दानी गरिरहेका छौँ’ मेचीनगरस्थित कालिका सामुदायिक वन उपभोक्ता समितिका सहसचिव गोपाल तिम्सिनाले भने, ‘आम्दानी राम्रो हुने भएकाले नै हाम्रै समितिका कतिपय साथीहरुले आफैं रबर खेती सुरु गर्नु भएको छ ।’

झापाका तीन सामुदायिक बनसहित बुधबारे, शनिश्चरे, धाइजन, पृथ्वीनगर, घेराबारी, राजगढ, खुदुनाबारी, सुरुङ्गा लगायतका स्थानमा रबर खेती हुँदै आएको छ । सरकारले रबन जोन कार्यक्रम मार्फत् प्राविधीक सहयोगसँगै बिरुवा उत्पादन र बजारीकरणमा सहयोग गर्न सके रबर खेतीबाट धेरै राम्रो आम्दानी लिन सकिने कृषकहरु बताउँछन् । ‘हामी उत्पादन गरेको रबर दुधलाई हामीले नै कच्चा रबर बनाएर बेच्न सके धेरै फाइदा हुन्छ’ धाइजनकी कृषक गोमा चिमोरियाले भनिन्, ‘त्यस तर्फ रबर जोन कार्यक्रमले ध्यान दिनुप¥यो ।’

रबर जोन परियोजना कार्यान्वयन इकाई झापाका अनुसार हाल जिल्लाको ५ सय विगाहा क्षेत्रफलमा हुने रबर खेतीबाट मासिक १० टन रबर उत्पादन हुने गरेको छ । अघिल्लो आर्थिक वर्ष झापामा एक करोड ४४ लाख रुपैयाँ वरावरको रबर उत्पादन भएको थियो ।

नेपाली बजारमा रबरको अत्याधिक माग रहेकाले झापालाई रबर उत्पादनका लागि सरकारले प्राथमिकतामा राखेअनुसार सामुहिक र संस्थागतरुपमा व्यवसायिक रबर खेतीका लागि कार्यक्रम अघि बढाइसकिएको रबर जोन परियोजना कार्यान्वयन इकाई झापाका वरिष्ठ कृषि अधिकृत शेषराज पौडेलले बताए । ‘सामुदायिक वनको खाली जग्गा, खोलाको छेऊछाउ र अन्नबाली राम्रो नहुने ठाउँमा रबर लगाउन हामीले प्रोत्साहन गरिरहेका छौँ’ वरिष्ठ कृषि अधिकृत पौडेलले भने, ‘बजारको शुनिश्चितताका लागि स्थानीय स्थरमै प्रशोधन केन्द्र सञ्चालन गर्ने विषयमा पनि छलफल चलिरहेको छ ।’

साना किसान प्राकृतिक रबर उत्पादक संघका अनुसार रबरबाट ७ वर्षदेखि २५ वर्षसम्म नियमित आम्दानी लिन सकिन्छ । एउटा रुख बराबर बार्षिक ८ देखि १० लिटरसम्म चोप निकाल्न सकिने रबर खेतीमा संलग्न कृषक बताउँछन् । रबरको चोप प्रति लिटर ५० देखी ७० रुपैयाँमा बिक्रि हुने गरेको छ भने प्रशोधित रबर प्रति केजी २ सय ५० देखि ३ सय रुपैयाँमा बिक्रि हुन्छ । दक्षिण अमेरिकाको ब्राजिलबाट शुरु भएको रबर खेती २१ देखि ३५ डिग्री सेन्टिगे्रडसम्मको तापक्रममा राम्ररी फष्टाउने विज्ञहरु बताउँछन् ।

तपाईंको बिचार