Monday, April 22, 2019

सेयर लगानीकर्ताले मागे अर्थमन्त्रीको राजीनामा

प्रकाशित मिति: 2018/12/09

काठमाडौं । सेयर लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनशन सुरु गरेका छन्। राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन्। तत्काल विशेष कार्यक्रम ल्याइ सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले जानकारी दिए। सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीले काम नगरेपछि सेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको समेत राजीनामा माग गरेका हुन्। नियमनकारी निकायले बनाएका नीति कार्यान्वयनमा ल्याउन नसकेपछि अर्थमन्त्रीको राजीनामा माग्नु परेको उनीहरुको भनाइ छ। समूहले पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न पनि सरकारलाई सचेत गराएका छन्। यसअघि सेयर लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्र बुझाउँदा पनि आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित पक्ष तयार नभएपछि अनसन गर्न बाध्य हुनु परेको समूहको दावी छ। समूहले अनलाइन कारोबार प्रणालीको पहुँच आम नागरिकमा पु¥याउनुपर्ने लगायतका १० बुँदे माग राख्दै अनसन सुरु गरेको हो। समूहले सेयर बजारलाई सहज बनाउने अभियानमा साथ दिन देशभरका सेयर लगानीकर्ताहरुलाई सचेत रहन आह्वान पनि गरेको छ।

 

तपाईंको बिचार