Monday, June 24, 2019

सातौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरुः स्वदेशी हस्तकलामा उपभोक्ताको आकर्षण

प्रकाशित मिति: 2018/12/16

भैरहवा। सातौं लुम्बिनी राष्ट्रिय महोत्सवमा भैरहवामा सुरु भइसकेको छ ।  महोत्सवको मुख्य आकर्षण नेपाली धागोबाट निर्मित स्टकोट, ब्याग रहेको छ । जिल्लामा हुने मेला तथा महोत्सवमा अन्य स्टलको तुलनामा नेपाली धागोबाट उत्पादित वस्तु र हस्तकलामा नै नेपाली उपभोक्ताको भीडभाड लाग्ने गरेको छ ।

जसका कारण अहिले हस्तकलाजन्य वस्तुको स्टलमा यस्ता सामान खरिद गर्न उपभोक्ताको भीड लागेको हो । चिनारी महिला साझेदारी उद्योग समूह दाङले भैरहवा मेलामा नेपाली धागोबाट बनेका स्वदेशी कपडा राखेको छ । नेपाली उत्पादनप्रति चासो राख्नेहरूका कारण स्टलमा भीडभाड लाग्ने गरेको समूहको अध्यक्ष प्रेमकुमारी पुनले बताइन् । उनले जंगलमा कुहिएर जाने वनस्पतिलाई संरक्षण गर्दै विपन्न, द्वन्द्वपीडित, भूमिहीन तथा एकल महिलालाई स्वरोजगार पनि बनाएको बताइन् ।

पहाडी क्षेत्रको ओसिलो भागमा कपडा बनाउने कच्चापदार्थ पाइन्छन् । त्यहीँबाट संकलन गरी ल्याइएका वनस्पतिलाई प्रशोधन गरी कपडा बनाउने गरिएको पुनको भनाइ छ । यसरी बनाइने कपडा अन्य आयातित कपडाको तुलनामा धेरै राम्रो रहेको उनले बताइन् । ‘यस्ता कपडाको प्रयोगले बिरामीलाई समेत फाइदा पुग्छ,’ उनले भनिन्, ‘रक्तचाप भएका बिरामीलाई सहज हुनेदेखि लिएर गर्मीमा शीतल दिन्छ भने जाडोमा न्यानो बनाउँछ ।’

यसबाहेक अन्य कपडाको तुलनामा यो धेरै टिकाउ पनि भएको उनको दाबी छ । अहिले अधिकतम विदेशी कपडा आयातित भइरहेको सन्दर्भमा यो पेसालाई व्यवस्थित बनाउन सके स्वरोजगार मात्र नभई विदेशमा समेत निर्यात गर्न सकिने उद्यमीहरू बताउँछन् ।

समूहकी अध्यक्ष पुनका अनुसार अहिले उनको समूहमा ७१ जना प्रत्यक्ष रोजगार गरिरहेका छन् भने सयौंको संख्यामा आबद्ध छन् । उनले सरकार नै स्वदेशी उत्पादनप्रति अनुदार रहेको बताइन् । मेलामा राखिएको हस्तकलाको स्टलमा धेरैको आकर्षण बढेको छ । स्टल नं। ५३ मा रहेको ए फोर ट्रेनिङ सेन्टर प्रालिमा मानिसको चहलपहल बढेको हो । स्टलमा नेपाली हस्तकला कुशन, गुडिया, चुरा तथा मालासहित ३५ वटा वस्तु राखिएको छ ।

विगत १५ वर्षदेखि हस्तकला क्षेत्रमा काम गर्दै आएकी ए फोर ट्रेनिङ सेन्टर प्रालिका प्रबन्ध निर्देशक हेमा बेल्बासे केसी (अनिसा) ले तीन वर्षदेखि संस्था चलाउँदै आएकी छन् । पहिलोपटक मेलामा स्टल राखेकी केसीले महोत्सवका माध्यमबाट नेपाली हस्तकला सामग्रीको बिक्री बढ्नुका साथै स्वदेशी वस्तुको प्रवर्धनमा टेवा पुगेको बताइन् ।

५० रुपैयाँदेखि ३ हजारसम्मको सामग्री पाइने यस स्टलमा दैनिक १५ देखि २० हजारको कारोबार हुने गरेको उनको भनाइ छ । मेला आयोजक मूल समारोह समितिका अध्यक्ष तथा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले स्थानीय उद्योगबाट उत्पादित सामग्रीलाई प्रचार प्रसारका लागि मेलाले ठूलो टेवा पु¥याएको दाबी गरे । उनले नेपाली उत्पादनलाई उद्योगी एवं उपभोक्ताबीच जानकारी गराएर स्वदेशी वस्तु प्रयोग गर्न उत्प्रेरित गर्न महोत्सवले ठूलो भूमिका खेलेको बताए । मेलाको माध्यमबाट स्वदेशी वस्तु प्रयोग बढ्ने बताउँदै आगामी दिनमा पनि स्वदेशी उत्पादनका कारण आर्थिक विकासमा समेत फड्को मार्ने न्यौपानेको दाबी छ ।

 

 

तपाईंको बिचार