Sunday, April 23, 2017  |    

उपभोग्य वस्तुमा असोजदेखि एमआरपी

प्रकाशित मिति: 2015/09/02

सरकारले आगामी असोजदेखि उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य प्रणाली (एमआरपी) लागू गर्ने तयारी गरेको छ । भन्सारमा न्यून बिजिकरण देखाएर बजारमा अत्यधिक मूल्य असुल गर्ने प्रबृत्ति बढेपछि त्यसलाई नियन्त्रण गर्न यो प्रणाली लागू गर्न लागिएको वाणिज्य तथा आपूर्ति विभागले जनाएको छ । दैनिक उपभोग्य खाद्य, लत्ताकपडा, इलेक्ट्रिकलगायत औषधीजन्य वस्तुमा एमआरपी प्रणाली कार्यान्वयन गर्ने तयारी गरिएको विभागले जनाएको छ । अगामी असोज ११ गतेदेखि यो योजना कार्यान्वयनमा ल्याइनेछ । 

 भन्सार विभाग र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको सहकार्यमा एमआरपी प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको हो । उपभोक्ता हित संरक्षण ऐनअन्तर्गत रहेर यो व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । यो प्रणालीअन्तर्गत स्वदेशमै उत्पादन हुने तथा निर्माण हुने दैनिक उपभोग्य वस्तुका उत्पादनकर्ताले उत्पादनको स्टिकरमा उत्पादन मिति, उपभोग गर्ने मिति र एमआरपी अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । लागत खर्चमा २० प्रतिशतभन्दा बढी नाफा नहुने गरी एमआरपी तोक्नुपर्ने योजनामा उल्लेख छ, एमआरपी तोकेर पनि त्योभन्दा बढी रकम उपभोक्ताबाट असुल गरेको पाइएमा कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गत कारवाही गर्ने व्यवस्था विभागले गरेको बताईएको छ । 
भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मीका अनुसार भारतसहित तेस्रो मुलुकबाट आयात हुने दैनिक उपभोग्य वस्तुको भने आयातकर्ताले भन्सार बिल बिजकको आधारमा भन्सारमै एमआरपी तोकेर त्यसैका आधारमा सामान बिक्री गर्नुपर्ने व्यवस्था छ । भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सामग्रीमा उतैबाट प्रिन्ट भएको एमआरपीसहित सामग्री ल्याउनुपर्नेछ वा भन्सारमै एमआरपी घोषणा गरेर सोही मूल्यमा बजारमा बिक्री गर्नु पर्नेछ । 
एमआरपी प्रणाली कडाइका साथ लागू र अनुगमन गर्न तथा कारबाहीको दायरामा ल्याउन आयातकर्ताले भन्सार बिन्दुमा र स्वदेशी उद्योगले तोकेको एमआरपी वस्तुको सूची वाणिज्य विभागलाई उपलब्ध गराउनु पर्नेछ । 
सोही सूचीका आधारमा उद्योग र आयातकर्ताले तोकेको मूल्यमा बजारमा बिक्री भए नभएको विषयमा वाणिज्य विभागले अनुगमन गर्ने व्यवस्था गरिएको छ । तोकिएको एमआरपीका बारेमा सर्वसाधारणलाई जानकारी गराउन पत्रपत्रिका तथा विभागको वेवसाइटमा समेत प्रकाशित गरिने प्रावधान राखिएको छ । 

तपाईंको बिचार