Saturday, September 21, 2019

बागलुङ नगरमा विश्व बैंकले लगानी गर्ने

प्रकाशित मिति: 2018/12/20

बागलुङ । बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ। विश्व बैंकले सहरी विकास मन्त्रालय अन्‍तर्गतको शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनामार्फत करोडौं रुपियाँ लगानी गर्न लागेको हो। विश्व बैंकले ‘सहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करिब १६ अर्व रुपियाँ लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए। आयोजनाले केही दिन नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इन्जीनियर सहितको बैठक राखेर छनोटमा परेका स्थानीय तह र गर्नुपर्ने कामको बारेमा जानकारी गराएको नगरप्रमुख पौडेलको भनाइ छ। पौडेलका अनुसार गण्डकी प्रदेशका बागलुङलगायत तनहुँको शुक्लागण्डकी, ब्यास र स्याङ्जाको पुतलीबजार नगरपालिका आयोजना सञ्चालनको लागि छनोटमा परेका छन्। आयोजनाले सूचक तय गरी बजेट बाँडफाँड गर्दा प्रतिनगरपालिका करिब ७०–८० करोड रुपैयाँको बजेट प्राप्त गर्न सक्ने नगरप्रमुख पौडेलले बताए। आयोजना सञ्चालनका लागि ‘सहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’ले छनोट गरेका नगरपालिकाको पूर्वाधार सुधारका क्षेत्रमा काम हुने जानकारी प्राप्त भएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए। बागलुङ नगरपालिकाको रिङ रोडको रुपमा परिचित सडक यही आयोजनको पहिलो चरणमा निर्माण भएको थियो। आयोजनाबाट प्राप्त हुने बजेट नगरपालिकाका गौरवका आयोजनाहरुमा खर्च गर्न सक्ने नगरप्रमुख पौडेलले बताए। आयोजना सञ्चालन गर्न देशभरका २१ स्थानीय तहको पूर्वाधार सुधारका लागि डिपिआर गर्ने कन्सल्ट्यानको छनोटको प्रक्रिया अगाडि बढाइएको आयोजना निर्देशक रोशन श्रेष्ठले बताए। आयोजना सञ्चालनका लागि विश्व बैंकबाट नेपाल सरकारले प्राप्त गर्ने सहुलियत ऋण वापतको एक सय ५० मिलयिन डलर अर्थात १६ अर्व ५० करोड रुपियाँ स्थानीय तहलाई अनुदानवापत प्रदान गर्ने आयोजना निर्देशक श्रेष्ठले बताए। विश्व बैंकमार्फत नेपाल सरकारले प्रदान गर्ने अनुदान रकमलाई हरेक नगरपालिकाको जनसंख्या, क्षेत्रफल, पूर्वाधारको अवस्था, लागत लगायतका सूचकहरु राखेर बजेट बाँडफाँड गरिने आयोजनाले जनाएको छ। ‘हामीले अहिले आयोजना सञ्चालन हुने स्थानीय तहको छनोट सम्पन्न गरी स्थानीय तहले छनोट गरेका आयोजनाहरुको डिपिआर तयार गर्नेगरी प्रक्रिया अगाडि बढाएका छौं, सूचक तय गर्नका लागि वित्तिय आयोग र अर्थ मन्त्रालयसँग छलफल भइरहेकाले केही समय पछि सूचक तय गरी सूचकको आधारमा बजेट बाँडफाँड गर्नेछौं’ श्रेष्ठले भने । आयोजनाबाट प्राप्त बजेट पूर्वाधार सुधार तथा शासकीय क्षमता सुधारमा खर्च हुने भएकाले स्थानीय तहले ती आयोजनाहरु सम्पन्न गर्नका लागि जनशक्तिको व्यवस्थापन गर्नुपर्नेछ भने नगरपालिकाले पूर्वाधार सुधारका लागि सडक, खानेपानी, सिंचाई, भवन लगायतका आयोजना छनोट गरेर काम गर्नुपर्ने प्रावधान रहेको आयोजनाले जनाएको छ।

 

तपाईंको बिचार