Tuesday, October 22, 2019

१३ प्रतिशत व्याजदरमा खाता खोल्नेले अब कति पाउँछन् ?

प्रकाशित मिति: 2018/12/21

काठमाडौं । व्यक्तिगत मुद्दती खातामा १३ प्रतिशत व्याज दिनेगरी विभिन्न बैंकहरुले ग्राहक तानेका छन् । धेरैले मुद्दती खाता खोले र अन्य बैंक तथा वित्तीय संस्थाबाट १३ प्रतिशत व्याजकै लागि रकम सारे।

अब भने बैंकहरुले यस्तो मुद्दती खातामा उच्चतम ९.२५ प्रतिशतसम्म मात्रै व्याज दिने भएका छन्। १३ प्रतिशतको व्याजदरमा खाता खोल्नेहरुले अब कति पाउँछन् भन्ने खुल्दुली धेरैमा होला।

मुद्दती निक्षेप भएकाले सो व्याजदरमा खाता खोल्नेले तोकिएको अवधिसम्म १३ प्रतिशत नै व्याज पाउने नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए।

‘जति अवधिका लागि १३ प्रतिशतको मुद्दती खाता खोल्नु भएको छ, उहाँहरुले सो अवधिसम्म त्यति नै पाउनुहुन्छ’ शाहले भने। मुद्दतीमा नयाँ खाता खोल्नेलाई भने बैंकहरुले अब ९। २५ प्रतिशतभन्दा बढी दिने छैनन्।

त्यस्तै बैंकहरुले यसअघि बचत खातामा ७ प्रतिशतको व्याज दिँदै आएका थिए। सो व्याजदरको बचत खाता खोल्नेले भने अब साढे ६ प्रतिशत पाउने भएका छन्। मुद्दतीमाजस्तो बचत खातामा समय नतोकिने हुँदा बैंकहरुले यस्तो व्याज अब घटाउन सक्ने छन्। व्याज घटाएको जानकारी सार्वजनिक सूचनामार्फत ग्राहकलाई गराउनुपर्नेछ।

त्यस्तै संस्थागत मुद्दतीमा यसअघि बैंकहरुले ९ प्रतिशतको व्याज दिँदै आएकोमा अब साढे ८ प्रतिशत मात्रै तोकेका छन्। यसअघि ९ प्रतिशतको व्याजमा खाता खोल्ने संस्थाहरुले अवधि परिपक्व नहुन्जेलसम्म ९ प्रतिशत नै व्याज पाउने छन्।

तर नयाँ संस्थागत मुद्दती खाता खोल्नेले भने साढे ८ प्रतिशतभन्दा बढी पाउने छैनन्।

तपाईंको बिचार