Sunday, August 25, 2019

बजार नपाएपछि सिगानाका कृषकहरु निराश

प्रकाशित मिति: 2018/12/26

बागलुङव । बागलुङ नगरपालिका–८ सिगानामा उत्पादन भएका सुन्तलाले बजार पाउन नसकेपछि स्थानीय कृषकहरु निराश बनेका छन् । गत बर्षको तुलनामा यस बर्ष किसानहरुले आधा मुल्य पनि पाउन नसकेपछि सुन्तला बोटमा कुहिएर झर्न थालेका हुन् ।

लुम्ले कृषि अनुसन्धान केन्द्रले बि.स २०४८ बाट २०५३ सालसम्म अनुसन्धान गरेर सिगानामा सुन्तला, ताजा तरिकारी तथा बिउ उत्पादनका लागि उपयुक्त क्षेत्र भएको बताएपछि व्यवसायिक रुपमा कृषि पेशामा लागेका कृषकहरु अहिले सुन्तलाले बजार नपाएपछि निराश बनेका छन् । सुन्तलाका लागि पानी नजम्ने जमिन, पारिलो घाम लाग्ने एवं मझौला किसिमको बर्षा आवश्यक पर्ने भएपनि यस वर्ष असिना परेर पनि सुन्तला राम्रो नभएको कृषकहरु बताउछन् ।

२०३८ सालबाट व्यवसायिक रुपमा सुन्तला खेती गरेका सिगानाका अनन्त खड्काले गत बर्ष ३ लाख रुपैँया भन्दा बढीको सुन्तला बिक्री गरेका थिए । पोखराबाट मानिसहरु आएर बोटबाटै सुन्तला खरिद गरेपनि अहिले आधा सुन्तला पनि बिक्रि हुन नसकेको बताए । अहिले खड्काले ८ रोपनी क्षेत्रफलमा २ सय विरुवा लगाका छन् । व्यवस्थित सिचाई, बजार, सुन्तला राख्ने स्टोरको व्यवस्थापन नहुँदा प्राकृतिक दृष्टिकोणले राम्रो जमिन हुँदा पनि सोचे जति आम्दानी लिन नसकिएको खड्काले बताए ।

 

अहिले सिगानामा रहेका झण्डै ६० घरपरिवारले अहिले व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । गत बर्ष ४० हजार देखि ४ लाख रुपैँयासम्म आम्दानी गरेका कृषकहरु यस बर्ष सुन्तला बिक्री नभएपछि बजारिकरणका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने बताउछन् । सिगानामा अहिले ४ हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । अर्का कृषक टोपबहादुर खड्काले २०३० सालबाट खेती सुरु गर्नुभएको थियो । साउन देखि चैत महिना सम्म फल्ने स्थानीय संगै जापानी जातका सुन्तलाका बोट लगाएको बताए ।

गत वर्ष सुन्तला बिक्रि गरेर गाउँमा ८० लाख रुपैँया भन्दा बढी भित्राएका सिगानाबासीहरु यस बर्ष ५० लाख पनि नपुग्ने भन्दै चिन्तित बनेका छन् । विशेषगरी स्वादिष्ट तथा गुलियो गुणस्तरीय सुन्तला र तरकारीका लागि पकेट क्षेत्रका रुपमा रहेको सिगानामा कृषकहरुलाई अनुदान र तालिमको आवश्यकता रहेको पनि बताएका छन् ।

तपाईंको बिचार