Thursday, October 17, 2019

उत्पादनले नथेग्दा बढ्यो मकैको आयात

प्रकाशित मिति: 2019/01/03

काठमाडौं । कुखुरापालन व्यवसाय बढ्दै जाँदा मकैको आयात पनि बढेको छ। कुखुराको दानामा आधाभन्दा बढी कच्चा पदार्थका लागि मकै नै चाहिने तर स्वदेशको उत्पादन पर्याप्त नभएकाले मकै आयात गरिएको कृषि विभागअन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ। कुखुरापालनमा लाग्ने किसानको संख्या ह्वात्तै बढे पनि त्यसको अनुपातमा मकैको उत्पादन वृद्धि नभएको वरिष्ठ बाली विकास अधिकृत प्रकाश आचार्यले बताए। उनले भने, ‘किसानलाई आकर्षित गर्ने खालका कार्यक्रम गरेर पनि मकैको उत्पादन बढाउनुपर्छ।’ नेपालको मुख्य तीन बालीमा धान र गहुँसँगै मकै पर्छ। तराईदेखि भित्री मधेश र उच्च पहाडी क्षेत्रमा समेत मकैखेती हुँदै आएको छ। दिनदिनैको खानामा मकैको प्रयोग केही मात्रामा बढेको छ भने कुखुराका आहाराका लागि पनि बढी मात्रामा मकैको आवश्यकता पर्छ। किसानलाई मकैखेतीमा आकर्षित गर्ने कार्यक्रम स्थानीय तह र जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत लैजाने केन्द्रको योजना रहेको वरिष्ठ बाली विकास अधिकृत आचार्यले बताए। उनले भने, ‘थोरै जमिनमा पनि धेरै उत्पादन दिने जातका मकैको उत्पादन बढाउनु खाँचो छ।’ नेपालमा मकैको उत्पादन प्रतिहेक्टर तीन टन छ।

 

तपाईंको बिचार