Monday, June 17, 2019

बसपार्क निर्माणका लागि स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराए

प्रकाशित मिति: 2019/01/10

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि पाँच स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

यसै वर्ष निर्माण गरिने बसपार्कका लागि हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले तीन रोपनी आठ आना, प्रेमकुमारी गिरीले दुई रोपनी, जीतबहादुर बस्नेतले दुई रोपनी, थीरकुमार बस्नेत र तीर्थकुमार बस्नेतले चार÷चार आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी आउने दर्शनार्थीले जथाभावीरूपले सवारी साधन राख्दै आएकाले बसपार्कका लागि आ–आफ्नातर्फबाट लागि करीब रु तीन करोड बराबरको आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका नगरप्रमुख इवन राईले बताए ।

“बसपार्कको अभावमा हलेसीमा बास बस्ने पर्यटकले ल्याएका सवारीसाधन जथाभावी पार्किङ गर्नुपर्ने बाध्यता थियो।”, उनले भने, “प्राप्त जग्गामा यसै वर्ष बसपार्क निर्माण गरेर लामो समयदेखिको समस्या समाधान गर्नेछौँ ।”

जग्गादाताले हलेसी मन्दिरको उत्तरी क्षेत्रमा पर्ने पात्ले भन्ने ठाउँमा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा गएर नगरपालिकाको नाममा नामसारी गरिदिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए । बसपार्क निर्माणका लागि सहरी विकास मन्त्रालयबाट रु तीन करोड बजेट स्वीकृत भएलगत्तै नगरपालिकाले निःशुल्क जग्गा जुटाउन पहल थालेकोे थियो ।

दर्शनार्थीको दैनिक बाक्लो भीड लाग्ने हलेसीमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि कम्तिमा पनि दश रोपनी जग्गा आवश्यक पर्ने भएकाले थप जग्गाका लागि पहल भइरहेको नगरपालिकाले जनाएको छ । प्राप्त जग्गामा कार्यालय भवन, आवास, कर्मचारी, यात्रु प्रतिक्षालय, शौचालय, धारा, बाथरुम, चमेनागृहगायत संरचना हुने नगरप्रमुख राईले बताए।

सवारीसाधनको दैनिक बाक्लो चाप लाग्ने हलेसीमा नगरपालिकाले भाडामा जग्गा लिएर अस्थायी बसपार्क बनाएको थियो ।

तपाईंको बिचार