Thursday, June 27, 2019

भक्तपुरमा कालीमाटीपछिको दोस्रो ठूलो तरकारी बजार, माघे सङ्क्रान्ति लक्षित तरुल मेला

प्रकाशित मिति: 2019/01/13

भक्तपुर। काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ।

आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस २५ गतेदेखि शुरु भएको तरुल मेलामा तरुण किन्न जाने उपभोक्ता एवं व्यापारीको भीड लागेको छ।

भक्तपुरकै ठूलो तरकारी बजारका रुपमा स्थापना भएको यो बजारमा तरुल किन्न कालीमाटीसम्म पुग्न नपर्ने र सस्तोमै लोकल तरुलसमेत पाइने थाहा पाएर तरुल किन्न आएको सानोठिमीका तरकारी व्यापारी कृष्णलाल श्रेष्ठले बताए।

उनले भने, “तरकारी बजार खुल्दैछ भन्ने सुनेको थिए, तरुल बिक्री शुरु भएको थाहा पाएर यहाँ आए, अब होलसेलमा तरकारी किन्न कालीमाटी गइरहनुपर्ने आवश्यकता देखिन, यही बजार खुलेपछि यहीबाट लगेर व्यापार गर्न सजिलो भयो।”

भक्तपुर तरकारी बजारमा होलसेलमा तरुल बिक्री गर्दै आएको सिन्धुपाल्चोकका व्यापारी रामकुमार शिवाकोटीले यहाँ कालीमाटीभन्दा सस्तोमा तरुल बिक्री भइरहेको बताए।

भक्तपुर तरकारी बजारका सञ्चालक बस्नेतले यहाँ तराई, पहाड र  भारतदेखि आयात गरिएको ११ जातका तरुल बिक्री भइरहेको बताए। तरुलको जातअनुसार ढकको २०० देखि ७०० रुपैयाँ सम्ममा बिक्री भइरहेको बताउँदै उहाँले माग बढ्दै गएकाले तरुलको आयात पनि बढाउँदै लगेको बताए।

हाल तरुल, आलु, पिडालु, सख्खरखण्ड, चौम्सुर पालुङ्गोलगायत माघे सङ्क्रान्तिलाई आवश्यक तरकारीको मेला सञ्चालन गरेको उनको भनाइ छ।    भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी सङ्कलन १८ स्थानमा तरकारी सङ्कलन केन्द्र खोलिएको बताउँदै उनले कृषकले बजार खोज्दै भौतारिनु नपर्ने र उपभोक्ताले काठमाडौँको बजार धाउनु नपर्ने बताए।

माघदेखि बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादन विभिन्न प्रकारका तरकारी, पीठो, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने भएको उनको भनाइ छ।

तपाईंको बिचार