Thursday, June 27, 2019

शीतभण्डार (कोल्डस्टोर) नहुँदा सस्तोमै सुन्तलाबेच्न बाध्य छन् किसान

प्रकाशित मिति: 2019/01/20

स्याङजा । शीतभण्डार (कोल्डस्टोर) को अभावका कारण स्याङ्जा चिसापानीका किसानहरु हरियो छँदैदेखि सुन्तला न्यून मूल्यमा बिक्री गर्न बाध्य बन्छन् । रुखमै राख्दा पनि असुरक्षित हुने हुनाले उनीहरु सस्तोमै सुन्तला बिक्री गर्न बाध्य भएका हुन् ।

हरिनास गाउँपालिका ३ चिसापानीको ललहीमा करोडौं मूल्यको सुन्तला उत्पादन हुने भए पनि सुन्तला भण्डारण गर्ने कोल्डस्टोर नहुँदा सुरक्षा र मूल्य दुवै पाइरहेका छैनन् किसानहरुले । उनीहरुले असोज–कात्तिक महिनामा नै हरियोमै न्यून मूल्यमा बोटै ठेक्का लाएर बेचेका छन् ।


लामो समयसम्म बोटमा राख्दा झर्ने, बाँदरले खाने, चराले खानेलगायतका समस्या हुने हुँदा पहेलो नहुँदै बोटै रित्याएर नै बिक्री गर्नुपर्ने मारमा रहेको यहाँका किसानहरु बताउँछन् । राम्ररी पाक्ने बेलासम्म सुरक्षित राख्न पनि रुखमा बुख्याँचा लाउनुपर्ने बाध्यतामा छन् उनीहरु । हाल कतिपय रुखहरुमा सुन्तला भए पनि बुख्याँचा लाएको देखिन्छ ।

किसानले हरियोमै बोटै ठेक्का दिँदा प्रतिकेजी अधिकतम २० सम्म पर्न जान्छ । माघ मसान्तसम्म सुन्तला राख्नसके प्रतिकेजी १०० रुपैयाँभन्दा बढीमा गाउँघरबाटै बिक्री गर्न सकिने किसानहरु बताउँछन् ।

कृषि विकास कार्यालय स्याङ्जा र अन्य दातृ निकायले सुन्तला भण्डारण गर्ने उच्च प्रविधियुक्त कोल्ड स्टोर निमार्ण गरिदिए गाउँका सबै किसानलाई राहत मिल्ने सुन्तला किसान पुष्पादेवी सिग्देलले बताइन् ।

किसानले आफूले खान र पाहुनाका लागि राख्न बोटमा नै मान्छे आकारको पुत्ला ९बुख्याँचा० बनाएर ठड्याउने गरेका हुन् । जस्ले गर्दा सुन्तला पाक्दासम्म बोटमा नै राख्न सकिने उनीहरुको विश्वास हुन्छ ।

टिपेर सुन्तला भण्डारण गर्ने कोल्डस्टोर नभएकाले पनि मान्छेजस्तै पुत्ला बनाएर रुखमा राख्दा त्यहाँ चरा तथा बाँदर नआउने र सुन्तला लामो समयसम्म राख्न सकिने सिग्देलको भनाइ छ ।

सुन्तला खेती गर्दै आएका किसान लोकबहादुर क्षेत्रीले सुन्तला लामो समयसम्म राख्न नसक्दा निकै कम मूल्यमा सुन्तला बिक्री गर्नुपरेकोमा खिन्नता प्रकट गरे ।

तपाईंको बिचार