Thursday, June 27, 2019

बुढीगण्डकी डुबान क्षेत्रका प्रभावितलाई एक अर्ब आठ करोड मुआब्जा

प्रकाशित मिति: 2019/02/05

काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका डुबान क्षेत्रका प्रभावितलाई थप एक अर्ब आठ करोड रुपैयाँ मुआब्जा वितरण गरेको छ । राष्ट्रिय गौरव आयोजनाका रूपमा निर्माण गर्न लागिएको आयोजनाले डुबान क्षेत्रमा पर्ने साबिकका धावा गाविसका प्रभावितलाई उक्त रकम वितरण गरेको योजनाका पुनर्वास तथा पुनःस्थापन एकाइका प्रमुख कृष्ण कार्कीले बताए। 

आयोजनाले चालु आर्थिक वर्षभित्र मुआब्जा निर्धारण भइसकेका सबै डुबान प्रभावितलाई मुआब्जा वितरण गर्ने गरी काम अघि बढाइएको उनले बताए। आयोजनाले मुआब्जा वितरण गर्न छुट भएका अश्राङ, बोर्लाङ, बुङकोट र नाम्जुङका प्रभावितको बैङ्क खातामा समेत रकम पठाइसकेको उनले जानकारी दिए। आयोजनाले यो पटक ५२५ डुबान प्रभावितको बैङ्क खातामा मुआब्जा रकम पठाएको आयोजना प्रमुख कार्कीले बताए।   

्एकाइका प्रमुख कार्कीले डुबान क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न आयोजनालाई १८ अर्ब रकम प्राप्त भएको र त्यो रकमले मुआब्जा निर्धारण गरिएको क्षेत्रका प्रभावितलाई मुआब्जा वितरण गर्न पुग्ने अनुमान रहेको बताए। त्यस्तै डुबान प्रभावित क्षेत्रमा घरगोठ, फलफुल र बोट बिरुवाको तथ्याङ्क सङ्कलनको कामसमेत अघि बढाइएको उनको भनाइ छ। रासस

तपाईंको बिचार