Tuesday, March 19, 2019

एक सातामा २७ अंकले घट्यो नेप्से

प्रकाशित मिति: 2019/02/15

काठमाडौँ । यो साता शेयर बजारमा परिसूचक नेप्से घटेको छ । बजरमा लगानी योग्य रकम अभाव हुँदा कारोबार न्यून भएपनि बिहीबार भएको एभरेष्ट बैंकको कारोबारले ३ अर्ब बढीको कारोबार भएको छ ।

बिहीबार एभरेष्ट बैंकको १ अर्ब ९१ करोड रुपैयाँ बराबरको संस्थापक शेयरको कारोबार भएपछि यो साता शेयर बजारमा कारोबार उच्च भएकोछ । एकै परिवारको १५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएको भन्दै नेपाल राष्ट्र बैंकले बैंकको लाभांश रोकेपछि संस्थापक बिके श्रेष्ठले आफनो नामको शेयर विक्री गरेका थिए । त्यसैले यो साता ३ अर्ब ३ करोड ७४ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।

यो साता शेयर बजारमा परिसूचक नेप्से २६ दशमलव ७ अंकले घटेर १ हजार १ सय १२ दशमलव ८७ अंकमा बन्द भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेनसेटिभ परिसूचक पनि ५ दशमलव ६९ अंकले घटेर २ सय ३६ दशमलव ९२ अंकमा बन्द भएको छ ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव हुँदा ब्याजदर बढ्न गई करोबार रकम न्यून रहेको छ । कारोबारमा आएका सबै परिसूचकहरुमा गिरावट आउँदा नेप्से दबाबमा देखिएको हो ।

तपाईंको बिचार