Saturday, July 20, 2019

कुखुराबाट राम्रो आम्दानी

प्रकाशित मिति: 2019/02/17

उदयपुर । वैदेशिक रोजगारबाट फर्किएपछि लोकल कुखुरापालनबाट एक युवाले छोटो अवधिमै सोचेभन्दा बढी आम्दानी गरेका छन् । साउदी र कतारमा सात वर्ष काम गरेर फर्किएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाका दिनेश निरौलाले लोकल कुखुराको फार्म सञ्चालन गरी राम्रो आम्दानी गरेका हुन् ।

उनी लोकल कुखुराको फार्म सञ्चालन गरेको ६ महिनाको छोटो अवधिमै राम्रो कमाइ गर्न सफल भएका हुन् । साउदी अरब र कतारमा गरी करिब सात वर्षको वैदेशिक रोजगारी गरी फर्किएका निरौला भन्छन्, ‘कुनै पनि काम ठूलो वा सानो हुँदैन ।’ मिहिनेत र परिश्रम गरे विदेशमा होइन, यहाँ पनि कमाइ गर्न सकिने उनको अनुभव छ ।

वैदेशिक रोजगारी छोडेरे मासु र अन्डा उत्पादन गर्ने उद्देश्यले लोकल कुखुराको फार्म सञ्चालन गरेको उनले बताए । उत्पादनभन्दा बढी माग आउने गरेकाले माग धान्न सकिरहेको छैनन् । विदेशमा भन्दा कम परिश्रममै धेरै कमाउन सकिने भन्दै उनले पछिल्लो समय आमउपभोक्ताको लोकल कुखुराको मासु र अन्डाप्रति अत्यधिक माग बढ्दै गएको र उपभोक्ताहरूका चाहनाअनुरूप नै आपूmले नमुना लोकल कुखुरा फार्म दर्ता गरी व्यावसायिक कुखुरा पालन गर्न सुरु गरेको बताए ।

गत असारबाट खोर निर्माण गरी सञ्चालन गरिएको सो लोकल कुखुरा फारमबाट हालसम्म करिब १ लाख ५० हजारको मासु र २० हजारको अन्डा बिक्री गर्न सफल भएकोनिरौला बताउँछन् ।

निरौलाको फार्ममा हाल माउ, चल्ला र भाले समेत गरी विभिन्न प्रजातिका करिब ५ सय ५० थान लोकल कुखुरा छन् ।

उदयपुरमा ब्रोइलर, गिरिराज र लियर्स जातका कुखुरा पालन गर्ने व्यावसायीहरू पछिल्लो समय बढ्दै गए पनि फार्म नै दर्ता गरेर करिब ५ लाख रुपैयाँको निजी लगानीमा लोकल कुखुरा पालन गर्ने निरौला पहिलो व्यवसायी हुन् ।

ओथारो बस्ने, चारो खाने, चल्ला चराउने र अन्डा पार्ने अलग अलग ठाउँ व्यवस्था गरी करिब १० कट्ठा निजी जग्गामा चारैतिर मसिनो तारले घेराबेरा गरेर बनाइएको आधुनिक खोर तथा खुला चरन क्षेत्र भएकाले दुम्सी, घाँटी खुइले, लुइचे जातका लोकल कुखुरा अहिले राम्रोसँग फस्ट्याएको निरौला बताउँछन् ।

दर्जन बढी माउ पोथी ओथारोमा रहेको र ती सबैले चल्ला कोरलेपछि आफूले गरेको परिश्रम र लगानी फार्ममा देखिने भन्दै निरौला चारो तथा अझ व्यवस्थित खोर निर्माणमा स्वरोजगार कार्यक्रममार्फत सरकारी सहयोग भए लोकल कुखुराको स्वास्थ्यकर मासु उत्पादनलाई थप प्रभावकारी बनाउन सकिने बताउँछन् ।

बजारमा लोकल कुखुराको मासु प्रतिकिलो सात सय रुपैयाँले बिक्री हुँदै आएको र माग अझ बढ्दै गएको अवस्थामा सरकारले व्यावसायिक रूपमा कुखुरा पालन गर्न चाहने बेरोजगार युवालाई युवा लक्षित कार्यक्रममार्फत् अनुदान दिनुपर्ने निरौलाको भनाइ छ ।

त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरीले त्रियुगा नगरपालिकालार्ई दूध, मासु र अन्डामा आत्मनिर्भर बनाउने लक्ष्यसाथ पशु तथा कुखुरापालनका लागि प्रोत्साहित गर्न व्यवसायीहरूलाई गोठ, खोर निर्माण तथा सुधारका लागि आर्थिक अनुदान व्यवस्था गर्न लागेको र यसबाट व्यवसायीहरू थप उत्साहित हुन सक्ने बताए ।

त्यसैगरी, चौदण्डीगढी नगरपालिका– ९ का कुखुरा व्यवसायी बौवा राउतका अनुसार लियर्स तथा लोकल कुखुरा पाल्न निकै खर्चिलो हुने बताउँछन् । उन्नत जातको चल्लाको अभाव, अत्याधुनिक खोर बनाउन कठिन, लाइटिङ मिलाउन समस्या र चारोको अभावले आर्थिक स्थिति कमजोर भएका व्यवसायीले इच्छा गर्दैमा लोकल तथा लियर्स कुखुरा पाल्न नसकिने उनको भनाइ छ ।

तपाईंको बिचार