Tuesday, November 19, 2019

पर्यटन व्यवसायतर्फ आकर्षित भएर गोल्छा अर्गनाइजेसन अर्ब लगानीमा रिसोर्ट खोल्दै

प्रकाशित मिति: 2019/02/18

विराटनगर । खाद्यान्न प्रशोधन र अटोमोबाइल क्षेत्रको उद्योगमा संलग्न गोल्छा अर्गनाइजेसनका सुरेन्द्र गोल्छा पर्यटन व्यवसायतर्फ आकर्षित भएका छन् ।
धनकुटा जिल्लाको राजारानी गाउँपालिकामा गोल्छा अर्गनाइजेसनका गोल्छाले चार तारे स्तरको रिसोर्ट खोल्ने भएका छन् । रिसोर्टका लागि उनले ६५ रोपनी जमिन खरिद गरिसकेका छन् । रिसोर्टको नामकरण गरिसकिएको छ, ‘ले–तमोर रिसोर्ट एन्ड स्पा ।
रिसोर्टमा एक अर्ब लगानी गरिने उद्यमी गोल्छाले जानकारी दिए ।प्रदेश नम्बर (१ को राजधानी विराटनगरबाट पूर्वको प्रसिद्ध बजार धरान ४० किलोमिटर उत्तरमा अवस्थित छ । धरानबाट पूर्वको प्रसिद्ध हिल स्टेसन र पर्यटकीय गन्तव्य भेडेटार पुग्न २२ दशमलव ६ किलोमिटरको पहाडी घुमाउरो सडक तय गर्नुपर्छ । भेडेटारबाट पनि २३ दशमलव ७ किलोमिटरपूर्व पहाडी ग्राभेल बाटो पार गरेपछि आइपुग्छ अर्को सुन्दर ठाउँ राजारानी । राजारानी ताल यहीँ छ ।
‘एक महिनापछि निर्माणको काम सुरु गरिन्छ’, उद्यमी गोल्छाले भने, ‘२०७७ को दशैँमा सञ्चालन सुरु गरिसक्ने योजना छ । डेढ वर्षमा पहिलो चरणको निर्माण सकिन्छ ।’गोल्छाका अनुसार रिसोर्टमा पहिलो चरणमा ६० र दोस्रो चरणमा १२० वटा कोठाको निर्माण गरिनेछ । स्ट्यान्डर्ड, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारका कोठा हुनेछन् । रिसोर्टमा क्यासिनो र स्पाको सुविधा पनि हुनेछ । रिसोर्टबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
रिसोर्टमा शाकाहारी र मांसाहारी छुट्टछुट्टै रेस्टुरेन्ट हुनेछन् । त्यस्तै हेलिप्याड, इन्डोर स्विमिङ पुल, बिलियार्ड हल, बगैँचा, प्राङ्गारिक तरकारीको खेती तथा विभिन्न प्रकारका आकर्षक र मनोरञ्जनात्मक खेल रिसोर्टका विशेषता हुने गोल्छाले दाबी गरे ।
रिसोर्टले मूख्य गेट नजिकै ५–७ वटा स्टल स्थानीयवासीलाई उपलब्ध गराएर स्थानीय उत्पादन बिक्रीका लागि राखिनेछ।‘ नेपाली र भारतीय ग्राहक हाम्रा लागि मुख्य हुनेछन्’, उनले भने, ‘केही वर्षयता छिमेकी विहारका नागरिक नेपालमा आएर आफ्नो जन्मोत्सव, वैवाहिक वर्षगाँठ, नयाँ वर्ष र होली मनाउने परम्परा सुरु भएको छ । विहारबाट नेपालमा विवाह गर्न आउनेको सङ्ख्या पनि उल्लेखनीय छ । त्यसैले भारतीय नागरिकलाई आकर्षित गर्नु हाम्रो मुख्य प्राथमिकता हुनेछ । यसबाट विदेशी मुद्रा आर्जन भएर व्यापार घाटा पनि कम हुनेछ ।’
यसबाहेक नेपाल भित्रकै सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि सेमिनार, कन्फ्रेन्स र तालिम आदिका लागि पनि राजारानीको रिसोर्ट उपयोगी हुने उनले बताए । ‘बजारमा हामीलाई शङ्का छैन’ गोल्छाले भने, ‘बजारीकरण हामीले गर्न सक्नुपर्छ ।’उनले स्थानीय युवालाई सुसूचित गरेर रिसोर्टमा धेरैजसो रोजगारी स्थानीय स्तरबाटै लिइने जानकारी दिए । पहिलो चरणमा १ सयले रोजगारी पाउने छन् ।
‘हामीलाई डेढ वर्षपछि यस्तोयस्तो सीप, योग्यता र दक्षता भएको जनशक्तिको खाँचो पर्नेछ भनेर हामी अहिले नै त्यहाँका युवालाई सुसूचित गर्न लागिरहेछौँ’ गोल्छाले भने, ‘उहाँहरू सीपमा योग्य र कुशल भएर आउनुभयो भने पहिलो प्राथमिकतामा पर्नु हुनेछ ।’ गोल्छाका अनुसार एक दशकअघिसम्म राजरानी सामान्य रूपमा थियो तर हिजोआज यो ठाउँ आन्तरिक र वाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । राजारानीमा प्राकृतिक ताल छँदैछ, तालसहित नागबेली पार्क र काली झरनाको निर्माण पनि गरिएपछि आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो । गुप्तेश्वर गुफा यहाँको अर्को पर्यटकीय स्थल हो ।
गोल्छाले भने, ‘करिब १६ रोपनी क्षेत्रमा नागबेली पार्क छ र यहाँ ढुङ्गामा कुँदेर ३५ फिट लामो नागको मूर्ति बनाइएको छ । पार्कका कुनाकाप्चा र भिरालो ठाउँमा विभिन्न देवीदेवताका मूर्ति स्थापित छन् । यसबाहेक यहाँ ठूलो काभ्रोको रुख, ततिला झरना र घ्याम्पे दहले पनि पर्यटक लोभ्याउने छन् । राजारानी आउने जो कोही पनि तीन दिन मजाले रमाउन सक्छ ।’
सरकारले पूर्वाधारको निर्माण र ताल तथा प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने उनको आग्रह छ । ‘प्रदेश नम्बर १ को सरकारले आफ्नो प्राथमिकतामा पर्यटनलाई राखेको छ’, उनले भने, ‘भेडेटारदेखि राजारानीसम्मको ग्राभेल बाटो कालोपत्रे गरिने त थाहा भयो तर राजारानीको ‘ब्युटिफिकेसन’मा स्थानीय र प्रदेश सरकारले ध्यान दिनु आवश्यक छ ।

 

तपाईंको बिचार