Sunday, May 19, 2019

१६० करोडको लागतमा रविभवनमा खुल्दैछ चार तारे होटल ‘क्राउन इमेरियल’

प्रकाशित मिति: 2019/02/19

काठमाडौँ । रविभवनमा क्राउन इमेरियल होटल सञ्चालनमा आउने भएको छ । ५ रोपनी क्षेत्रमा १५ तलाको होटल निर्माण अन्तिम चरणमा रहेको छ ।
डिलक्स स्तरको होटल क्राउन इमेरियल अप्रिल १६ बाट औपचारिक रुपमा सञ्चालनमा आउने जनरल म्यानेजर भरत जोशीले बताए ।
हाउजिङको लागि निर्माण गरिएको अपार्टमेन्टलाई नै परिमार्जन गरी होटल सञ्चालन गर्न लागिएको हो ।
अहिले होटल निर्माण अन्तिम चरणमा रहेको छ, केहि दिनपछि होटल पूर्ण रुपमा तयार हुनेछ, म्यानेजर जोशीले भने(अप्रिल १६ तारिखमा होटलको ग्राण्ड ओपनिङ हुनेछ ।
स्पेन, भारत, जापान, चीनका पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागिएको हो । होटलले १ सय १० जनालाई रोजगारी प्रदान गर्नेछ ।
होटलमा किरण श्रेष्ठ, सुधिर मास्के, विश्व साख र हरिकृष्ण डंगोल गरी ४ जनाको मुख्य लगानी रहेको छ । होटल स्थापना र सञ्चालनको लागि आइसीएफसी फाइनान्स वित्तीय सहायता प्रदान गरेको छ । होटलले पर्यटन विभाग, होटल एशोसियसनबाट स्वीकृति लिइसकेको छ ।
यस्तो छ होटलको बिजनेश प्लान
होटलले विशेष गरी कर्पोरेट मार्केट, लेजर ग्रुप र विदेशी पर्यटकलाई टार्गेटमा राखेको छ । म्यानेजर जोशीका अनुसार भारत, चीन, अमेरिका र युरोपेली पर्यटकलाई सेवा दिने तयारी गरेको छ ।
होटलमा १३० वटा बेड छन् । ५०० जना अट्ने ब्याङ्केट हल रहेको छ । रुफ टफ बार, रुफ टफ रेस्टुरेन्ट भने पछि मात्रै निर्माण गर्ने योजना छ । होटलमा स्वीमिङ पुल, हेल्थ क्लब लगायत अन्य सुविधा रहने छन् ।
सुलभ दरमै सामाजिक कार्यहरु विवाह, व्रतबन्ध लगायतका कार्यक्रम गर्न सकिने होटल व्यवस्थापनले जनाएको छ । व्यवसाय विस्तारको लागि होटलले स्पेन, भारत र लोकल स्तरमा मार्केटिङ गरिरहेको छ ।
१३२ वटा पुगे तारे होटल
देशभर तारे होटलको संख्या १३२ वटा पुगेको छ । पर्यटन विभाग होटल शाखाका अनुसार उच्च स्तरको सेवा दिने गरी खुलेको तारे स्तरको होटल १३२ पुगेको छ । विभागका अनुसार पाँच तारे स्तरको १२, चार तारे स्तरको ८, तीन तारे स्तरको ३५, दुई तारे स्तरको ४३ र १ तारे स्तरको ३३ वटा होटल रहेका छन् । यस्तै पर्यटक स्तरको होटल संख्या ५१० पुगेको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी गरेको छ । जसअनुसार २० लाख पर्यटक भित्र्याउने लक्ष्य समेत राखिएको छ ।

 

तपाईंको बिचार