Saturday, July 20, 2019

फागुन १७ गतेदेखि २६ गतेसम्म लमजुङमा गण्डकी प्रदेशस्तरीय महोत्सव हुने

प्रकाशित मिति: 2019/02/25

बेसीसहर । फागुन १७ गतेदेखि  २६ गतेसम्म लमजुङमा गण्डकी प्रदेशस्तरीय महोत्सव हुने भएको छ। लमजुङ उद्योग वाणिज्य संघले प्रदेशस्तरीय छैटौं लमजुङ महोत्सव गर्न लागेको हो। संघको आयोजनामा बेंसीसहर नगरपालिका–८ दनाईफाँटमा महोत्सव सञ्चालन हुने छ।

स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन, नागरिक समृद्धिका लागि लगानी मैत्री वातावरण भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल समारोह समितिका संयोजक राजेश थापाले बताए।

उनका अनुसार जिल्लामै उद्यमी बनाई आर्थिक विकासमा टेवा पुर्‍याउन महोत्सव सञ्चालन गर्न लागिएको हो। महोत्सवले साना तथा मझौला उद्योगको स्थापनामा प्रवद्र्धन गराई युवा जनशक्तिमा विदेशिनबाट रोक्ने उनले बताए।

महोत्सव मार्फत परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गरिने उनले बताए। महोत्सवमा २ सय ५० वटा स्टल रहने छन्। १० वटा होटल तथा रेष्टुरेण्ट, ४० वटा कृषि, घरेलु सामग्री सम्बन्धी स्टल र अन्य प्रकारका स्टल रहने छन्। संघका महासचिव कृष्णजंग गुरुङका अनुसार महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सव अवधिभर २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। 

तपाईंको बिचार