Wednesday, May 24, 2017  |    

नेपालीको आम्दानीभन्दा खर्च तीनगुना बढी

प्रकाशित मिति: 2015/09/18

नेपालीहरुको आम्दानीको तुलनामा खर्च अत्यधिक बढेको एक सर्वेक्षणले जनाएको छ । राष्ट्रबैंकद्धारा गरिएको एक सर्वेका अनुसार पछिल्लो एक दशकको अवधिमा आम्दानी र खर्चको फरक झण्डै तीनगुना देखिएको छ । 
आम्दानी दुई हजार सात सय ३८ रुपैयाँ बढ्दा खर्च १० हजार सात सय ९३ रुपैयाँले बढेको छ उक्त सर्वेले देखाएको छ । खर्चको आकार अत्यधिक बढेको, तर पनि आम्दानी नबढ्दा यस्तो फरक आएको हो ।  
राष्ट्रबैंकको पाँचौ परिवारिक बजेट सर्वेअनुसार एउटा घरपरिवारको सरदर खर्च मासिक २५ हजार ९ सय २८ रुपैयाँ छ भने आम्दानी ३० हजार १ सय २१ रुपैयाँ छ । चौथो पारिवारिक बजेट सर्वेअनुसार खर्च १५ हजार १ सय ३५ हुँदा आम्दानी २७ हजार तीन सय ९१ रुपैयाँ थियो । 
आम्दानीको स्रोत सीमित हुने तर खर्चको दायारा फराकिलो बन्दा यस्तो देखिएको हो । सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रका परिवारले मासिक २२ हजार ९ सय २८ रुपैयाँ खर्च गर्छन् भने सहरी क्षेत्रका परिवारले २८ हजार ४ सय ७४ रुपैयाँ खर्च गर्छन् ।  
राष्ट्रबैंकले हरेक १० वर्षमा पारिवारिक मासिक खर्चको अध्ययन गर्ने गर्छ । राष्ट्रबैंकले विभिन्न ५५ जिल्लाको ८४ वटा बजारकेन्द्रबाट आठ हजार २८ वटा घरपरिवारलाई समावेश गरेर अध्ययन गरेको थियो । एउटा परिवारमा औसतमा ४.९५ सदस्य हुने अनुमान गरेर अध्ययन गरिएको छ। अध्ययनले परिवारले गर्ने खर्चमा खाद्यन्नभन्दा गैर खाद्यन्न क्षेत्रमा गर्ने खर्च बढ्दै गएको देखिएको छ । 
 
सर्वेक्षणका अनुसार खाद्यान्न र पेय पदार्थमा ४३.९१ प्रतिशत र गैर खाद्य र सेवा क्षेत्रमा ५६.०९ प्रतिशत खर्च भएको छ । पछिल्लो समय परिवार खर्च खाद्यन्नभन्दा सेवा क्षेत्रमातर्फ बढ्दै गएको देखिएको छ । 
गैर खाद्य समूहमा सबैभन्दा बढी खर्च घरभाडा ,पानी ,बिजुली र ग्यासमा हुने गरेको छ । १० वर्ष अगाडि सो घरभाडा र पानीमा कुल खर्चको १०.८७ प्रतिशत हुने गरेकोमा अहिले बढेर २०.३ प्रतिशत पुगेको छ । 
सहरी क्षेत्रमा खाद्यान्नपछि सबैभन्दा बढी खर्च घरभाडा र ग्यासमा खर्च हुने गरेको छ । अल्कोहल र सुर्तीजन्य पदार्थमा दुई सय ५६ रुपैयाँ खर्च हुने गरेको छ । 

 

तपाईंको बिचार