Monday, May 1, 2017  |    

यस्तो छ, पर्यटन व्यावसायीको दसैँ शैली

दसैँ हिन्दू धर्मावलम्बीहरुको सबैभन्दा ठूलो पर्व भएकाले स्वभाविक रुपमा यसको विशेष महत्व छ ।
म आफैँलाई दसैँ एकदमै मनपर्ने पर्व हो । यसपालि दसैँ मनाउन गृह जिल्ला दाङ जाने तयारीमा छु । दाजुभाइसँगको भेटघाट तथा परिवारका सबै सदस्यहरु मिलेर दुर्गा भवानीको प्रसाद टिका लगाउँछौ । बुवा आमाको स्वर्गबास भैसकेकाले मान्यजनबाट टिका थाप्छु, छोराछोरी र अन्य आफूभन्दा सानालाई टिका लगाईदिने काम हुन्छ । खानपिन, पुराना साथीभाइसँगको भेटघाटले दसैँ आनन्ददायक हुन्छ ।

अर्को मुख्य कुरा म पर्यटन व्यवसायमा विगत लामो समयदेखि सक्रिय रहँदै आएका कारण विश्वमै अनुपम संस्कृतिको रुपमा रहेको पर्व दसैँैको विदेशी पर्यटकहरुमाझ पनि प्रवद्र्धन गरिनुपर्छ भन्ने कुरामा लागिपरेको छु । यो श्रंखृला यो वर्ष पनि जारी छ । दसैँका दिन टिका लगाउनकै लागि विदेशी पर्यटकका दुई समूह मकहाँ आउँदैछन् । उनीहरुलाई मैले जानेसम्मको हाम्रो यस पर्व दसैँैको महत्व बारेमा बुझाउने प्रयास गर्छु । लामो इतिहास बोकेको हिन्दु संस्कृति आफैँमा अनुपम छ । यसर्थ विदेशीहरुले समेत बहुतै रुचाएको नेपाली संस्कृति, हामी आफैँले जर्गेना गर्नु आजको आवश्यता हो । यसअघि होली र महाशिवरात्रि पर्वका बारेमा पर्यटकहरुले बहुतै चासो राखेको मैले पाएको थिएँ । यसर्थ क्यालेण्डरकै रुपमा घटस्थापनादेखि विजयादशमीसम्म मनाइने पर्व र यसका पूजाविधिलाई विदेशी पर्यटकहरुमाझ प्रस्तुत गर्नसके पर्यटनको विकासमा कोशेढुंगा साबित हुनेछ । यसलाई सांस्कृतिक विकासको पाटोको रुपमा हेरिनु जरुरी छ । किनभने स्पेनमा सामान्य साँढेजुधाई खेल विश्वस्तरमा लोकप्रिय बन्दा हाम्रो हिमालयको काखमा परापूर्वकालदेखि हुर्केको संस्कृति त्यो भन्दा लोकप्रिय बन्ने निश्चित छ । यसर्थ यही भन्न चाहन्छु, नयाँ पुस्तालाई आफ्नो संस्कृति हस्तान्तरण गर्न सकौ र यसको महत्वका साथ बुझाउन सक्यौँ भने मात्र संस्कृति समृद्ध हुन्छ । विदेशी संस्कृतिको नक्कलले हामी कोही कसैलाई कही पुर्याउँदैन । दुर्गा भवानीले हामी सबैलाई सद्बुद्धि प्रदान गरुन्, रक्षा गरुन् । विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।

 

मोहन लम्साल, अध्यक्ष -नेपाल योग एसोसिएसन

दसैँ मलाई एकदमै मनपर्ने पर्व हो । आफन्तसँगको भेटघाट र मान्यजनको आर्शीवादका कारण यसको विशेष महत्व रहेको छ । यद्यपि कार्यव्यस्ताताकै कारण यसपालिको दसैँैमा घर (ओखलढुंगा) जान नपाउने भएको छु । काठमाडाँै आएयता बिगत १३ वर्षका दसैँमध्ये तीनवटा दसैँैमा मात्र घर जान पाएको छु । पर्यटकीय संस्था र व्यावसायमा सक्रिय रहेका कारण दसैँैमा अझ कार्यव्यस्तामा हुन्छु । कार्यव्यस्तताकै बीच साथीहरुसँग रमाइलो भेटघाट र खानपिनमा सहभागी हुन्छु । यद्यपि, म जुवातास, रक्सीमा भने सेवन गर्दिन । साथीहरुले खाएकै ठाउँमा जुस खाएर उनीहरुलाई साथ दिन्छु । यसो गर्दा पनि एक प्रकारको रमाइलै अनुभूति हुन्छ । दसैँैमा अन्य साथीभाइको जस्तै आफ्नै खर्चपनि बढी नै हुन्छ । सबै कुरा व्यवस्थापन गर्दै रमाइलो गरी दसैँ मनाउछु । सबै साथीभाइलाई दसैँैको हार्दिक शुभकामना दिन चाहन्छु ।

लिलाबल्दभ दाहाल ‘काका’, कोषाध्यक्ष –टान

दसैँ धुमधामसँग मनाउने तयारीमा छु । काठमाडौँमै दसैँ मनाउने भएकाले ढुंगेधारास्थित घरमै दसैँ मनाउँछु । पुर्खौली घर धादिङ भने यसपटक जान्न । पर्यटन व्यावसायमा संलग्न भएकाले विदेशी संस्कृतिको प्रभाव बढ्दो क्रममा छ । यद्यपि म मेरा सन्ततिलाई आफूले बाबु बाजेको पालादेखि मनाउँदै आएको दसैँ तिहारजस्ता चाडपर्वको महत्व बुझाउने गरी सप्तमीमा धुमधामसँग फुलपाती भित्राउँछु । छोराहरुलाई पनि यसको महत्व बुझाउँछु । आमाको हातबाट टिका लगाउँछु । छोराछोरी र अन्य सदस्यहरुलाई टिका लगाइदिन्छु । म आफैँलाई दुर्गा पुजा एकदमै मन पर्छ । म आफु शाकाहारी भएपनि छोरा र मेरो परिवारका अन्य सदस्यहरु भने मांशाहारी भएकाले मासुको परिकारमा उनीहरु रमाउँछन ।

यसका साथै विदेशी पर्यटकहरु पनि मेरो घरमा टिकाकै अवसरमा आउने भएकाले उनीहरुलाई पनि टिका लगाइदिन्छु । यसले नेपाली संस्कृतिको विकासमा पनि जोड पुग्छ । सोह्श्राद्धमा पनि केही पर्यटकहरु हामीसँगै थिए, जसले हाम्रो सामूहिक संस्कृतिलाई एकदमै मन पराए । मुख्यतः खानपिन, रमाइलो र मान्यजनको आर्शीवाद ग्रहण गर्दै रमाइलोसँग दसैँ मान्छु । अन्य साथीभाइको पनि दसैँ सुखद रहोस्, सबैलाई शुभकामना ।

राजन सिंखडा, प्रबन्ध निर्देशक -होटल अर्थबाउण्ड ट्रेकिङ

यसपालिको दसैँ पोखरामै मनाउने योजना छ । बुवाआमा र दुईजना छोराका साथ घरमै दसैँ मनाउँछु । स्कुले जीवनमा रहेका धेरै साथीभाइहरु अहिले कार्यव्यस्ताताका कारण स्वदेश तथा विदेशमा छरिएर रहनुभएको छ । विदेशमा रहेका केही साथीहरु घर फर्कने कुरा सुन्दा यसपालिको दसैँ तिनै साथीहरुसँग रमाइलो गरी मनाउने योजना छ । बुवा आमाबाट टिका लगाउने र छोराहरुलाई पनि टिका लगाइदिने काम हुन्छ । घरमा यसपालि मुस्ताङबाट ल्याइएका च्याङ्गा जुन आफ्नै घर अगाडिबाट बिक्रीका लागि पोखरा ल्याइन्छन, कम्तिमा पनि ३० केजीको च्याङ्ग्रा मासुका लागि खरिद गर्ने सोचमा छु । तासमा खास रुची छैन, टिका लगाइसकेपछि साथीभाईसँग हल्का मदिरासहितको रमाइलोमा समावेश हुने योजना छ । साथीभाइहरुसँग बिदेशी ब्राण्डको रक्सीको चुस्की लिने योजना पनि छ । एकदिनका लागि कतै ट्रेकिङ साथीभाइसँगै जाने योजना पनि तयार भैसकेको छ । रमाइलो गर्ने र साथीभाइसँगको जमघटमै यसपालाको दसैँ मनाउने योजनामा छु ।

 

सुवास भण्डारी, महासचिव -नाट्टा पश्चिमाञ्चल

दशै मलाई एकदमै मनपर्ने पर्व हो । यसपालीको दशै काठमाण्डौमा परिवारका सदस्यहरुमाझ मनाउने तयारीमा छु । दशैकै बेला ट्रेकिङ सिजन पनि भएकाले बिभिन्न देशका पर्यटकहरु नेपाल घुम्न आउने हुँदा उनीहरुलाई स्वागत गर्नुपर्ने हुन्छ । यस अर्थमा गृहजिल्ला काभ्रे जहाँ बुवाआमा हुनुहुन्छ, दशैमा जान भने नपाउने भएको छु । बिदेशबाट साथीहरु र मेरा ४ दाजुभाईमध्ये २ जना बिदेशमा छन, उनीहरु पनि दशैमा आउँदैछन । बिदेशबाट आउने साथीहरुले बिदेशी रक्सीका ब्राण्डहरु बोकेर आउँदैछन । यसरी हेर्दा मेरो यसपालीको दशै परिवारका सदस्य, दाजुभाई, बिभिन्न दलका नेता, पत्रकार, पर्यटन व्यावसायी, पर्यटकहरु र अन्य साथीभाईसँग बिदेशी रक्सी र खानपिनमा रमाईलो गरी  बिताउने सोचमा छु । बिदेशी रक्सीमा म बहुतै सौखिन छु । तास खेल्न मन भए पनि फुर्सद हुदैन । रक्सी मासु, चुरोट भने दशैका बेला अलि बढि नै जान्छ । घरमा बलि दिने काम हामी गर्दनौ, यद्यपी बँदेलको मासु औधी मनपर्छ । यसपाली भान्छाको बिशेष परिकार मध्ये बँदेलको मासु पनि हो ।

साथीभाईहरुसँग बस्दा एकदमै रमाईलो महशुस हुन्छ ।   छोराछोरी, भतिजाभतिजी र आफुभन्दा साना भाईहरुलाई टिका लगाईदिन्छु । म आफै भने गृहजिल्ला जान नभ्याएका कारण राजनितीक आस्थाका आधारमा पनि कांग्रेस महामन्त्री शशांक कोईरालाको हातबाट टिका थाप्ने योजनामा छु । दशै नेपालीहरुको मुख्य चाड भएकाले पर्यटकहरुलाई पनि यसमा समावेश गर्न सके सांस्कृतिक पर्यटनको बिकास हुन्छ । व्यक्तिगत तर्फबाट पनि यसमा म लाग्नेछु । समग्रमा भन्दा समाजका बिभिन्न क्षेत्रका व्यक्ति नेता, पत्रकार र व्यावसायीसँग बिदेशी रक्सी र खानपिन र रमाईलो गर्दै दशै बिताउने सोचमा छु । दशैको सबैलाई शुभकामना ।

 

छेटुप तामाङ, प्रवन्ध निर्देशक -अल्टिट्युड रान्डोने ट्रेकिङब

दसैँ मान्न यसपालि गृह जिल्ला धादिङ जाने तयारीमा छु ।   सप्तमीका दिन धादिङ घर पुग्ने कार्यक्रम छ । भूकम्पपछि पुर्ननिर्माण भएको पुर्खौली घरमा परिवारका सदस्यहरुमाझ यस वर्षको दसैँ मनाउने हाम्रो तयारी छ । तीन दाजुभाइमध्ये एक जना विदेशमा हुनुहुन्छ, हामी दुईजना दाजुभाइ, बुबा आमा र परिवारका अन्य सदस्य तथा छोराछोरी र भतिजभतिजीहरु सबै भेला हुँदा साँच्चै रमाइलो अनुभुति हुन्छ । परिवारको संख्या ठूलो भएको र परिवारमा सबैजसो मांसाहारी सदस्यहरु रहेकाले सदा झैँ यस वर्ष पनि ठूलो खसी काट्छौँ । मान्यजनको आर्शिवाद लिने र आफूभन्दा सानालाई टिका लगाइदिने, खानपिनमा परिवारका सदस्यहरुसँगै सहभागी हुन्छौँ ।

सानो छँदा गाँउमा रोटे पिङको चलन थियो । यद्यपि अहिले केही हराएजस्तो भएपनि केटाकेटीहरु त्यसमै झुम्मिएको देख्दा मन फुरङ्ग हुन्छ । दसैँ मान्न गाउँ जाने भएकाले यसपालि पर्यटकहरुलाई टिका लगाउने काम भने हुँदैन । सबै साथीहरुलाई बडादशैको शुभकामना भन्न चाहन्छु ।

 

राजेन्द्र सापकोटा, प्रबन्ध निर्देशक -मोजाइक एड्भेन्चर ट्रेकिङ