Saturday, August 19, 2017  |    

टान चरम आर्थिक संकटमा फस्दै जानुमा मुख्य दोषि को ?

उत्पातै राम्रो गर्यो टानले भन्दिन

टानको वर्तमानको क्रियाकलाप हेर्दा उत्पात राम्रो गर्यो भनेर बोल्नुपर्ने स्थिति होइन । सत्य यही हो, व्यावसायिक गतिविधि शून्य छन् । अघिल्लो कार्यसमितिले खातामा रु १ करोड ४० लाख बचत छोडेर गएको थियो, अहिले रु ३ करोडबराबरको ऋण कसरी भन्ने प्रश्न उठेको छ, स्वभाविक पनि हो । अघिल्लो कार्यसमितिकै शैलीको निरन्तरतालाई मैले बुझेको छु । यसमा फरक यत्ति हो अघिल्लो कार्यसमितिले आम्दानीका श्रोतसम्म पहिचान गरेर ल्याउने गथ्र्यो भने अहिलेको कार्यसमितिले यही काम पनि गर्न सकेन । व्यावसायिक योजनाभन्दा पनि प्रचारमुखीमा केन्द्रित हुने, कार्यक्रम आयोजना गर्ने सन्दर्भमा भद्धा आर्थिक शैली अपनाउने गरेका कारण टान आर्थिक रुपमा धरासायी बनेको हो । यदी आर्थिक परिवर्तनका एजेण्डा र सामूहिक कार्यसमितिको निर्णय अभ्यास हुन सकेन भने टान भन्ने संस्था पनि पर्यटनमा थियो भनेर सोच्नुपर्ने स्थितिप्रति चिन्तित हुनुपर्ने स्थिति छ । यसमा नेतृत्वको ध्यान पुगोस् ।

नवराज दाहाल, पूर्व–महासचिव –टान

टानको भुमिका बिकासे संस्थाको रुपमा हुनुभएन

टानको आर्थिक संकटको पछाडी नेतृत्वको कार्यशैली नै जिम्मेवार छ । व्यावसायीमुखी भुमिका निर्वाह गर्नुपर्ने संस्थाले बिकासे संस्थाको रुपमा बाटो मन्दिर निर्माण गर्दै दौडने प्रबृत्तिले नै अहिलेको समस्या ल्याएको कुरामा दुईमत छैन । अघिल्लो कार्यसमितीमा महासचिवको भुमिकामा रहेर मैलै कार्य गर्दै गर्दा हाम्रो कार्यसमितीले लिएका नितीहरुलाई बर्तमान कार्यसमितीले अबमुल्यन गर्ने र ठालु प्रबृत्ति बिकास भएकै कारण पनि आर्थिक संकट गहिरीएको हो ।

यस्तोमा टुरीजम बोर्डबाट प्राप्त हुने टिम्स रकमको अनावश्यक चर्चा मात्र गर्ने र सान्त्वनाको खोजीमा मात्र लाग्नु हुदैन । टिम्स टानको अधिकारको कुरा हो । तर त्यही अधिकार पनि आफुले कर्तब्य पुरा नगरेका कारण प्राप्त हुन सकेको छैन । भन्न खोजेको कुरा के भने पर्यटन बोर्ड र टानको हिसाबकिताबमा देखिएका अन्यौलताहरुलाई चिर्नको लागि लेखापरिक्षण र पछ्र्यौट गरी अगाडि बढ्नु पर्छ । जसले टिम्स रकम प्राप्त गर्ने बाटो पनि सहज हुन्छ । कार्यसमितीभित्र सल्लाह नगर्ने र एकलौटी ढंगमा नेतृत्व बिकसीत हुँदा जुनसुकै संस्थामा समस्या आउँछ । टानमा भएको पनि यही हो । बिगतमा पनि टानको कार्यसमितीमा रहेर काम गरेका हिसाबले टानको भबिश्यमाथिको चिन्ता ममा पनि छ । नेतृत्वले खुल्ला छलफल गर्न चाहेको खण्डमा निकाशको बाटो पहिल्याउन म सधै तत्पर छु ।

सागर पाण्डे, पूर्व–महासचिव –टान

टानले लेखापरीक्षण फर्छैट गर्नुपर्छ

टान नेतृत्व र पर्यटन बोर्डबीचको आपसी असमझदारीका कारण टिम्स रकम रोकिराखेको अवस्था छ, यस्तोमा टान आर्थिक रुपमा धरासायी बन्नुको प्रमुख कारण यही हो ।

यस्तोमा टान र पर्यटन बोर्डबीचमा आन्तरीक लेखापरीक्षण गरेर रोकिएको टिम्स रकम ल्याउन पहल गर्नु नितान्त आवश्यक छ । यसका लागि टानले पहिलो कदम लेखापरीक्षण गर्ने, खर्च फर्छैट गर्ने र आर्थिक रुपमा अनियमितता गर्ने काममा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउने हो भने टानको भविष्य सकारात्मक दिशातर्फ अगाडि बढ्छ । टानले बोर्डलाई बुझाउनुपर्ने रकम नतिर्ने र रकम माग्ने मात्रै प्रबृत्तिका कारण आफैले पाउनुपर्ने टिम्स रकम पनि रोकिएको अवस्थालाई नजरअन्दाज गर्न मिल्दैन । सबैभन्दा पहिले गर्नुपर्ने र अहिलेसम्म नगरिएको नै यही हो ।

अर्को कुरा टान व्यवसायीको संस्थाभन्दा पनि विकासे संस्थाका रुपमा प्रस्तुत भएका कारण समस्या उत्पन्न भएको हो । आफै आर्थिक रुपमा कमजोर भएको संस्थाले राजनीतिक पार्टीलाई चन्दा दिने, मठमन्दिर बनाएर खर्च गर्दै हिड्नु आफँैमा हास्यास्पद छ । भूकम्पले थलिएको लाङटाङमा पुलपुलेसा निर्माणमा अग्रसरता देखाएको भएमात्रै पनि ठूलो कुरा हुन्थ्यो ।

अर्को मैले नबुझेको कुरा टान सधैँभरि धरासायी छ, भनेर चित्रित गरिनु भनेको यसका सदस्यमाथिको पनि अपमान हो । १५ सय सदस्य भएको संस्थामा वार्षिक सदस्यले रु ५ हजारका दरले बुझाउँदै आएको रकम नै जोड्दा पनि रु ७५ लाख रकम हुन्छ, यस्तोमा कर्मचारीलाई नै तलब खुवाउन सकिएन भनेर चर्चा गरिन्छ भने यो नेतृत्वको असक्षमता हो भन्नुमा अप्ठेरो छैन ।

निकास यही हो । टानलाई आजको दिनमा रु ३ करोड ऋण लाग्नुका पछाडि जे कार्यक्षेत्रका लागि संस्था स्थापित भएको छ, त्यही दिशामा हिड्नु पर्यो, आफुले तिर्नुपर्ने थोरै रकम पर्यटन बोर्डलाई तिर्न नखोज्ने वा नसक्ने बदलामा ठूलो रकमको अपेक्षा जुन टिम्सको हवाला दिइएको छ । यसमा प्रक्रिया नपुर्याएकै कारण समस्या भएको हो । यसर्थ टान कार्यसमितिभित्रको अनियमितता छानबिन गर्ने र दोषिमाथि कारबाही गर्ने तथा लेखापरीक्षण र पछ्र्योटलाई टान सुधारका न्यूनतम आधार मानिनुपर्छ । सत्य यही हो । उक्साहटमा सदस्यहरुले टानलाई आर्थिक सहयोग गरेरै भएपनि उकास्छौ भन्छ भने यो उसको निजी चाहना होला यसमा मेरो भन्नु केही छैन । समाधान त्यसमा छैन ।

कुमार थापा, पूर्व–कोषाध्यक्ष –टान

टानले भलिबल होइन, ट्रेकिङ सिप विकास गराउनुपर्छ 

सर्वप्रथम तः जे उदेश्यका लागि टान स्थापित भएको हो, त्यो बाटोमा इमान्दार भएर हिड्न नसक्नु नै टानले आजको दिनमा भोगेको समस्या हो । व्यावसायिक हकहितको कुरै नगर्ने र राजनितीक पार्टीको चर्चा र व्यवहार संस्थामा पर्नु नै टान धरासायी हुनुको प्रमुख कारण हो । यसर्थ राजनीति गर्न इच्छा भएका साथीहरुले संस्थामा बसिरहनुको अर्थ छैन, या त इमान्दार भएर रहनुपर्यो ।

अर्को कुरा व्यवसायीको हकहितको विषयमा आर्थिक संकट बाधक भएर आउने तर मिडियामुखी कार्यका लागि अचम्मको अग्रसरता रोकिनुपर्यो । केही समय अगाडि भलिबल आयोजना गरेर ठूलै हल्ला गरियो, यो काम टानको होईन । अर्को पर्यटन बोर्ड र टानबीच टिम्सबापतको रकम प्राप्त गर्ने सन्दर्भमा जसरी अप्ठेरोपन देखिएको छ, यसको प्रमुख कारण टानले पर्यटन बोर्डसँग लेखापरीक्षण र पर्छैटलाई मिलाउन नसकेकै कारण समस्या आएको हो । यसमा ध्यान जाओस् ।

रामचन्द्र शर्मा, पूर्व–अध्यक्ष –टान पोखरा च्याप्टर

मागेर भोजभतेर गर्नेले फूर्ति गर्न मिल्दैन

मागीमागी छोराको बिहे गर्दा जुन खालको परिस्थितिको सामना गर्नुपर्छ, ठीक यही ढंगको समस्या टानले वर्तमानमा बेहोरिरहेको छ । टानको क्रियाकलाप हेर्दा व्यवसायीको उत्थानभन्दा पनि एनजियो शैलीमा प्रचारमुखी र उत्तेजनामा टान नेतृत्व अगाडि बढिरहेको छ । अन्धाधुन्ध कार्यक्रम आयोजना गर्दै संस्थालाई आर्थिक घाटा लगाएर व्ययभार बढाउनु भएन । कुहिरोमा हराएको कागजस्तै टानले आफ्नो लक्ष्य र दिशा पहिचान गर्न नसक्दा ठूलो आर्थिक ऋणमा फस्न गएको अवस्था हो ।

वर्तमानमा व्यावसायिक संस्थाको बीचमा टानको गरिमा भन्दा बेइज्जत भएको छ । व्यवसायीको पीरमर्का र भावनालाई आत्मसाथ नगर्ने र कार्यसमितीभित्र छलफल नै नगर्ने प्रबृत्तिकै कारण आर्थिक भार थपिन गएको कुरामा शंका छैन । संस्थाको सफलतामा कार्यसमितिकै महत्वपूर्ण भूमिका हुने भएपनि टान नेतृत्वले यसलाई गम्भिरताका साथ नलिने र बेलाबखत कार्यसमितिभित्रको विरोध शान्त पार्न आंशिक बजेट परिचालन गर्ने स्थितिकै कारण ऋणको बोझ थपिदै गएको हो ।
उत्तेजनाकै स्वरुपमा केही दिनअघि सम्पन्न टान साधारणसभामा रु ३९ करोडको बजेट टिम्सबापतको रकम भन्दै पर्यटन बोर्डबाट ल्याउने घोषणा भयो । रकम आउनु त सकारात्मक कुरा हो । यद्यपि लेखासमितिले पर्यटन बोर्डलाई टानको आर्थिक हैसियत पारदर्शी नभएको भन्दै कुनै पनि कारोबार नगर्नु भनेको स्थितिमा टिम्सबापतको रकम तत्काल टानले प्राप्त गर्ने स्थीति देख्दिन ।
उत्तेजक योजना होइन, व्यावहारिक हुन सक्नुपर्यो । टान कर्मचारीलाई समयमा तलब खुवाउन नसक्नेले भारी उपदानको चर्चा छाड्नुपर्यो । ट्रेकिङ आफैँमा जोखिमको क्षेत्र हो , पर्वतीय पर्यटन यात्राका दौरान फेरी पनि हुदहुद आँधीजस्ता समस्या सामना गर्नु नपर्ला भन्ने हुँदैन, यस्तोमा वर्तमानको टानको छविले उद्धार तथा राहतको स्थिति सबल हुने सम्भावना एकदमै कम छ । सहयोगी संस्थाको सहयोग नरहन सक्छ । यसर्थ यस किसिमको जोखिमको पूर्व तयारीका लागि टान नेतृत्वले सामूहिक छलफल गरेर नयाँ भिजनका साथ प्रस्तुत हुनुपर्छ । टानको ऋण तिर्न हामी सक्षम छौ । टानको हालत सधँै यही अवस्थामा रहन रहने छैन, अप्ठेरोलाई समाधान गरेरै छाड्छौँ ।

छेटुप तामाङ, प्रबन्ध निर्देशक –अल्टिच्यूट र्यान्डम ट्रेकिङ